लकडाउनका कारण ऊर्जा क्षेत्रका एक लाख मजदुर बेरोजगार

0
Shares

लकडाउनका कारण निर्माणाधिन जलविद्युत् आयोजना पूर्ण रुपमा काम नहुँदा झण्डै एक लाख मजदुर प्रभावित भएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले झण्डै एक लाख मजदुर काम बिहिन भएको जानकारी दिए। घर जान नसकेका तथा विदेशी कामदार भने आयोजना स्थलमा रहेको उनको भनाइ छ । लकडाउन खोलेपछि घर जान तयार भएर बसेका कामदारलाई प्रोत्साहन गरेर भएपनि काममा लगाउनुपर्ने उनको भनाइ छ ।

सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामा साझा समस्या रहेको भन्दै अध्यक्ष गुरागाईले लकडाउनका कारण समस्या परेका आयोजनालाई व्याज छुट तथा अन्य नीतिगत रुपमा सम्बोधन गरी सहजीकरण गरिदिन मन्त्रालयको ध्यानकर्षण गराए । यस्तै सर्वेक्षणको प्रतिवेदन बुझाउन म्याद सकिएका तथा अन्य समस्या एवम् जटिलता परेका आयोजनाका हकमा विशेष व्यवस्था गर्न उनले मन्त्रालले विशेषपहल गर्नुपर्ने बताए ।

अध्यक्ष गुरागाईको आग्रहलाई सम्बोधन गर्दै मन्त्री पुनले मन्त्रालयका तर्फबाट उपलब्ध गराउने सबै प्रकारको राहत तथा विशेष व्यवस्था गर्ने प्रतिवद्धता जनाए । मन्त्री पुनले लकडाउनका कारण झण्डै १० लाख श्रमिक बेरोजगार भएको, विदेशबाट झण्डै १० लाख श्रमिक फर्कन तयार रहेको तथा अन्य विभिन्न क्षेत्रका गरी तत्कालका लागि कूल २१ लाख बेरोजगारलाई काम दिने गरी सरकारले अधिकत्तम प्रयास गर्ने बताए।

कृषि मन्त्रालयसँग जोडेर कृषि उद्यम तथा कृषिमा आत्मनिर्भर बनाउने गरी काम गरिने मन्त्री पुनको भनाइ छ । कृषिमा आत्मनिर्भर बनाउने, तथा रोजगारीको अभिवृद्धिका लागि ऊर्जा र कृषि मन्त्रलायले एक विशेष योजना बनाएर काम गरिने जानकारी दिए ।