४५ स्थानीय तहमा औद्यौगिक ग्राम, विदेश गएकालाई सामाजिक सुरक्षा

0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले ४५ स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गरिने बताउनुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले स्थानीय श्रम, सीप तथा साधन प्रयोग गरी एकीकृत रुपमा उद्योग व्यवसाय विकास गर्न ती स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गरिने कार्य प्रारम्भ भसकेको बताउनुभयो ।

सरकारले स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा औद्यौगिक ग्राम विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेश गएकालाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराइने

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गरी सामाजिक सुरक्षालाई दिगो बनाइने बताउनुभयो ।

सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउन सरकारका विभिन्न तह र निकायबाट सञ्चालित सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई एकीकृतरुपमा कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वा श्रम गर्न नसक्ने अशक्त तथा असहाय, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिका र लोपोन्मुख जातिका नागरिकको पहिचान गरी सामाजिक संरक्षणको व्यवस्था गरिनेछ ।