‘मुलुकलाई आधारभुत वस्तुमा आत्मनिर्भर बनाउन अपरिहार्य’- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले मुलुकलाई कम्तीमा आधारभुत वस्तु तथा सेवामा आत्मनिर्भर हुनु पर्ने बाटोमा डोर्याएको बताएका छन् । प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाका कारण अर्थतन्त्रमा असर पर्यो भनेर हतोत्साहित हुने अवस्था नरहेको बताए ।

कोरोनासँग लड्दै, निको पार्दै सामाजिक जनजीवनलाई पनि सँगै चलाउने कसरी भन्नेमा हामीले सोच्नु पर्ने बेला भएको छ, प्रधानमन्त्री ओलीले भने ।

दातृ राष्ट्रबाट सहयोग आउने अपेक्षा गर्न सक्ने अवस्था नदेखिने बताएका उनले सबै मुलु्क अहिले कोभिडका कारण आर्थिक रुपमा कमजोर बनेको बताए ।

यो अवस्थामा आधारभुत वस्तु, खाद्य पदार्थ र बाँच्नका लागि आवश्यक वस्तुमा आत्मनिर्भर हुन ध्यान केन्द्रित गरिने गरी नीति तथा कार्यक्रम ल्याइएको उनले बताए ।

मुलुकको आर्थिक कृयाकलाप कसरी चलायमान बनाउने भन्नेमा आफु चिन्तित रहेको बताएका उनले जनतासँग कुनै किसिमको छलछामको काम नगरी पारदर्शी रुपमा राज्यले धान्न सक्ने गरी प्याकेजका कार्यक्रम ल्याउने बताए ।

रोजगारीका अवसर श्रृजना गरी त्यसमा आश्रृतले आफ्नो जीवन चलाउँदै मुलु्कको अर्थतन्त्रमा टेवा पुर्याउन सक्ने भएकाले सोही अनुरुप अघि बढ्ने उनको भनाई थियो ।