नेपाल लाइफको सदावहार जीवन बीमा योजना सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ। तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सक्नेछन्। बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ।


साथै, यस योजनामा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था समेत गरिएको छ। दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।

बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यस योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ। त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले जनाएको छ।

बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ। यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीको भनाई छ।

एकल बीमाशुल्क योजनामा बीमा शुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ ।

साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान हुनेछ।

बीमा योजना सर्वजनिक गर्दै कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, ‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जीन्दगीभर ढुक्क रहन चाहन्छन्। सेवाग्राहीहरूको यही चाहनाअनुसारको बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो।’

९० प्रतिशतसम्म कर्जाको सुविधा

यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।