धितोपत्र बोर्डले वार्षिकोत्सव कार्यक्रममा लगानीकर्तालाई नअटाए पछि …


नेपाल धितोपत्र बोर्डले जेठ २५ गते २८ औं वार्षिकोत्सव मनाउँदै छ । कोरोना संक्रमणका कारण जारी लकडाउनलाई मध्यनजर गर्दै बोर्डले वेबिनार अर्थात वेबमा आधारित भर्चुअल कार्यक्रम आयोजना गर्दैछ ।

बोर्डले तय गरेको कार्यक्रममा लगानीकर्ताको प्रतिनिधित्व नहुने जनाएको छ । बोर्डले सार्वजनिक गरेको कार्यक्रम तालिकामा लगानीकर्ताको प्रतिनिधित्व नभए पछि लगानीकर्ताहरुका बिचमा चर्चा चुलिएको छ ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा अर्थमन्त्री डा. युबराज खतिवडालाई आमन्त्रण गरिएको छ । त्यसै गरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष एवं सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष एवं कोहीनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटलाई मात्र कार्यक्रममा वक्ताको रुपमा समेटेको छ ।

बोर्डले कार्यक्रमको यो तालिका सार्वजनिक गरेसँगै लगानीकर्ताहरुले सामाजिक सञ्चालमा बोर्डले लगानीकर्तालाई वेवास्ता गरेको भन्दै आक्रोस पोखिरहेका छन् । लगानीकर्ताको तर्फबाट कसैलाई पनि कार्यक्रममा सहभागि नगराइएको भन्दै उनीहरुले बोर्डको कार्यशैलीप्रति चासो देखाएका हुन् । यसै सम्बन्धमा दुर्गा तिवारीले भनेकी छन् मुख्य सरोकारवालाई सहभागि नगराई धितोत्र बोर्डले आयोजना गर्न लागेको वार्षिकोत्सव कार्यक्रमको के अर्थ ? यस्तै विषय र प्रसंग जोडेर धेरै लगानीकर्ताहरुले बोर्डको कामको बिरोध जनाएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले पूँजी बजारको मुख्य सरोकारवाला लगानीकर्ता भएकाले कार्यक्रममा हाम्रो प्रतिनिधित्व गराउनु पर्ने थियो । अभिभावकले नै लगानीकर्तालाई कार्यक्रममा नअटाएकोमा दुखः लागेको बताए । सायद लगानीकर्ताका धेरै संस्थाहरु भएकाले बोर्डले लगानीकर्तालाई कार्यक्रममा नअटाएको हुन सक्छ, तर कुनै एउटा संस्थाका तर्फबाट लगानीकर्ताको प्रतिनिधित्व गरेको भए कार्यक्रमले पूर्णता पाउने थियो’ रौनियारले भने ।

लगानीकर्ता दिपेन्द्र अग्रवाल, नयन बास्तोला, अन्जिब तुलाधर लगायतका धेरै लगानीकर्ताहरुले बोर्डको कार्यक्रममा लगानीकर्तालाई वेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा आक्रोस पोखिरहेका छन् ।

उता धितोपत्र बोर्डले भने लगानीकर्ताका संघ संगठनहरु धेरै भएका कारण कुन संघलाई प्रतिनिधित्व गराउने भन्ने अन्यौलताका कारण कार्यक्रममा समेट्न नसकिएको जनाएको छ ।

आइतबार दिउँसो २ बजे सुरु हुने कार्यक्रमको प्रत्यक्ष प्रशारण नोटबजार डटकममा हेर्न सकिनेछ ।