आजदेखि सबै मालपोत कार्यालय खुल्ने तर जग्गापासको काम नहुने

0
Shares

सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ ।

लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो ।
आइतबादेखि देशभरका सबै मालपोत कार्यालय आन्तरिक कामका लागि मात्र खुल्ने भूमिसुधारतथा व्यवस्थापन विभागका महानिर्देशक शेष नारायण पौडेलले जानकारी दिए । उनले मालपोत कार्यालय खुलेपनि जग्गा पासलगायतका कारोवार नहुने बताए।

कार्यालयका अभिलेखहरु व्यवस्थित गर्ने, लकडाउन अगाडि अधुरा रहेका आन्तरिक कामहरु मिलाउने र आगामी वर्षमा जग्गाको न्यूनतम मुल्यांकनका दररेटहरु परिवर्तन, अड्डा अदालत तथा सरकारी निकायसँग सम्बन्धित कामका लागि डकुमेन्टहरु तयारी गर्नका लागि मात्र कार्यालय खुला रहने पौडेलले जानकारी दिए।

सेवाग्राही कार्यालयमा उपस्थित भई सेवा लिनुपर्ने प्रकृतिका जग्गा प्रशासन सम्बन्धि कामहरु के कसरी भन्ने बिषयमा छलफलकै क्रममा रहेको र नेपाल सरकारले निर्णय गरेपछि जानकारी गराइने पनि विभागले जनाएको छ।

पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।