गाडीभाडा बढाउने र राजधानीमा रात्री बस चलाउने सरकारको निर्णय रातारात फिर्ता

0
Shares

यातायात व्यवस्था विभागले गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने सरकारको निर्णय तत्काल लागू नहुने जनाएको छ ।

यस अघि यी तीनवटै निर्णय असार १ गतेदेखि लागु हुने घोषणा गरिएको थियो । थप अध्ययनको आवश्यकता रहेको भन्दै सरकारले यी तीन महत्वपूर्ण निर्णय फिर्ता लिएको हो । अर्को सूचना प्रकाशित नभइञ्जेलसम्मका लागि निर्णय फिर्ता लिइएको विभागले जनाएको छ ।

सरकारले देशभरका सवारी रुटहरुको गाडीभाडा बढाउने, काठमाडौंमा रात्रीकालिन बस सञ्चालन गर्ने तथा दिउँसोको समयमा चक्रपथभित्र मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाउने तीनओटै निर्णय लागु नहुने स्पष्ट पारेको छ ।

विभागले बिहीबार सार्वजनिक यातायातको भाडादरमा १२ देखि २० प्रतिशतसम्म वृद्धिको निर्णय सार्वजनिक गरेको थियो । भाडा वृद्धिको निर्णयसँगै उसले देशभरका लामो तथा छोटा दूरीका गन्तव्यहरुमा परिमार्जित भाडादरको सूचि समेत सार्वजनिक गरिसकेको थियो ।

सरकारले काठमाडौं उपत्यकामा रात्रीबस चलाउने र चक्रपथभित्र मालबाहक साधनमा प्रवेश रोक लगाउने निर्णय केही समय अघि नै गरेको हो भने गाडीभाडा बढाउने निणर्य हिजो दिउँसोमात्रै गरेको थियो ।

जनस्तरबाट सरकारको तीव्र आलोचना हुन थालेपछि विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा यातायात व्यवस्था विभागर्ले निर्णय फिर्ता लिएको हो ।