हिमालयन क्यापिटलको अनलाईन सेवा संचालनमा, डिम्याट खाता नि:शुल्क

0
Shares

हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको सहजताका लागि अनलाईन सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले अनलाईन मार्फत डिम्याट र मेरोशेयर खाता खोल्ने व्यवस्था मिलाएको जनाएको छ । तर शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्त भने राखेको छ ।

साथै २०७७ असार मसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले जानकारी दिए।

नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विधुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको नोभल कोरोनाका कारणले घरबाट बाहिर निस्कने असहज परिस्थीतीलाई ध्यानमा राख्दै यस्तो सेवा संचालनमा ल्याएको कम्पनीले जनाएको छ।

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवा मार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।

डिम्याट तथा मेरोशेयर खाता संगै हिमालयन क्यापिटलले पुंजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिबार  १२ : ५६ बजे