बाँकेमा ३१५ पुगे कोरोना सङ्क्रमित

0
Shares

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए।

गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको सङ्क्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ ।

नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उप महानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये १७० जनाले कोरोना पराजित गरी घर फर्किसकेका छन् ।

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिबार  १८ : ३८ बजे