कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा ८ अर्ब ३९ करोड रुपैयाँ खर्च

0
Shares

युवाहरुको आन्दोलनबाट दबाबमा परेको सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भएको विवरण सार्वजनिक गरेको छ  । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च विवरण सार्वजनिक गरिएको हो।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको उल्लेख छ।

नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २१ प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार रुपैयाँ, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार रुपैयाँ र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयका अनुसार गृह मन्त्रालय मार्फत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख रुपैयाँ निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ६ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयहरू मार्फत १५ करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार रुपैयाँ निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न ८ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको छ ।

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिबार  १९ : ४६ बजे