विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाई

0
Shares

चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ ।

चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको हो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ । 

चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्दगरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ ।

यसैबीच राजधानी बेइजिङ्मा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ ।

पछिल्लो चरणमा सङ्क्रमण भेटिएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए।

चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो ।

चीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्क्रलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थिएन ।

 

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार  २२ : ०४ बजे