पूँजीगत लाभकरलाई अन्तिम कर गणना गर्न राजश्वको सर्कुलर

0
Shares

आन्तरिक राजश्व विभागले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएका पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न सबै आन्तरिक राजश्व कार्यालयहरु र धितोपत्र बोर्डलाई पत्राचार गरेको छ।

आन्तरिक राजश्व विभागका नीति विश्लेषण र व्यवस्थापन विभागका प्रमुख थानेश्वर गौतमले पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न मातहतका निकायमा निर्देशन दिइसकेको नोटबजारलाई जानकारी दिए।

उनले भने;- “कानुनमा अहिले पनि ऐच्छिक व्यवस्था छ, चाहेमा मात्र पछि आय विवरण पेश गर्नुपर्ने हुन्छ। ऐच्छिक व्यवस्था भएकाले चाहेन भने त्यो नै अन्तिम व्यवस्था हुन्छ। त्यो कानुनमा नै प्रष्ट भएपनि लगानीकर्तामा द्विविधा भएकाले त्यो लेखि पठाइदिसकेका छौं।”

नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा पत्राचार गर्दै पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन केही दिनअघि मात्रै अर्थ मन्त्रालय समक्ष अनुरोध गरेको थियो।

बोर्डले कतिपय कर कार्यालयले पूँजीगत लाभकरलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको र कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासाहरु लगानीकर्ताहरुबाट प्राप्त भएको भन्दै सहजीकरण गरिदिन पत्राचार गरेको थियो।

सोही अनुरुप अर्थ मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार विभागले मातहतका कार्यालयहरु र धितोपत्र बोर्डमा अन्तिम करको रुपमा गणना हुने व्यवस्था मिलाउन भन्दै पत्राचार गरिएको हो।