पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज जम्मा ४२१ जनाको पिसिआर पोजेटिभ आएको र त्यसमध्ये ६४ महिला र ३५७ पुरुष रहेको जानकारी दिए।
योसँगै हालसम्म ९ हजार २६ जनाको पिसिआर पोजेटिभ आएको छ। तीमध्ये ८२० जना महिला र ८ हजार २०६ जना पुरुष छन्। हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ सङ्क्रमित भेटिएका छन्।
एक हजार ७७२ डिस्चार्ज
पछिल्लो २४ घण्टामा आठ महिला र १८६ पुरुष गरी कूल १९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४९ महिला र एक हजार ६२३ पुरुष गरी कूल एक हजार ७७२ पुगेको छ।
२३ सङ्क्रमितको मृत्यु
आज थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ। योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ। आज मृत्यु हुनेमा गुल्मी क्षत्रकोट गाउँपालिका–५ मैनडाडाँका ६९ वर्षीया पुरुषको मृत्यु भएको छ। उनी प्यारालाइसिस उपचारका लागि भारत -गएर फर्किएको र घरमै क्वारेन्टिनमा बसेका थिए।
पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा ६ हजार ८ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नौ हजार ८७४ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म पिसिआर विधिबाट एक लाख ७५ हजार १७३ र आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमूनाको परीक्षण गरिएको छ। मुलुकभरका क्वारेन्टिनमा ९४ हजार ९२८ जना रहेका छन्। आइसोलेशनमा रहनेको सङ्ख्या सात हजार २३१ रहेको छ।
प्रतिक्रिया