उन्नति लघुवित्तले असार २६ गतेदेखि एकिकृत कारोबार थाल्ने

0
Shares

उन्नति लघुवित्त (UMB) ले यहि असार २६ गतेदेखि सहकार्य लघुवित्तलाई गाभेर एकिकृत कारोबार थाल्ने भएको छ। नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै संयुक्त कारोबारको मिति तय भएको हो।

२०७६ साउनमा मर्जर सम्झौतको बखत दुई संस्थाबीच २०७६ पुस महिना भित्र एकिकृत कारोबार थाल्ने सम्झौता भएपनि अनुमानित समय भन्दा पाँच महिना ढिलो एकिकृत कारोबार थाल्न लागेको हो। उन्नतिले १०० बराबर ७५ शेयर स्वाप रेसियोमा मर्जर गरेको हो।

लघुवित्तले नेपाल राष्ट्र बैंकबाट फागुन १८ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट जेठ १९ गते मर्जर सम्झौताको दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति तथा दायित्व उन्नति सहकार्य लघुवित्तले व्यहोर्ने सकार्ने गरि अन्तिम स्वीकृति प्रदान गरेको हो।

यसअघि दुबै वित्तीय संस्थाको २०७६ पुस १९ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाले एक आपसमा गाभ्ने /गाभिने प्रस्ताव पारित गरेको थियो।

उन्नती माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देहीमा छ भने सहकार्यको सर्लाहीमा छ। उन्नतिले १५ जिल्ला र सहकार्यले १० जिल्लाका शाखा कार्यालयहरुबाट सेवा दिँदै आइरहेको थियो।

एकिकृत कारोबार गर्दा दुबै संस्थाको तथ्यांकलाई एउटै सफ्टवेरबाट कारोबार गर्नुपर्ने हुँदा असार २५ गते एक दिन दुबै वित्तीय संस्थाले प्रदान गर्दै आएको सम्पूर्ण वित्तीय सेवा बन्द हुने भएको उल्लेख गरिएको छ।

मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १४ करोड ९५ लाख ३६ हजार ६५० रुपैयाँ पुगेको छ। एकिकृत संस्थाको ७ सदस्यीय संचालक समितिमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सिईओलाई निरन्तरता दिइएको छ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार  १३ : १२ बजे