सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो। यसअघि गत सोमबार सुनको भाउ सबैभन्दा उच्च प्रतितोला ९१ हजार पुगेको थियो ।

दुई साता यता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलो पटक घटेको थियो । असार ९ गते मंगलबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेको थियो तर बुधबार सुनको भाउ पुन उकालो लागेको छ । लकडाउनपछि बन्द रहेको सुनचाँदीको भाउ निर्धारण जेठ २५ गतेपछि नियमित रुपमा तोकिँदै आएको छ।

महासंघका अनुसार असार १० गते बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६६५ रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९४५ रुपैयाँ निर्धारण गरेको छ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। सरकारले बजेट मार्फत थप भन्सार बढाउँदा समेत सुनको मूल्य वृद्धिमा सहयोग पुगेको हो।

विश्व महामारी कोरोना भाइरसको संक्रमण पश्चात विश्वमा नै पहेँलो धातु सुनको मूल्य बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कोरोना भाइरस संक्रमण पश्चात अमेरिकी फेडरल बैंकले रिपोको ब्याजदर घटाएको छ। विश्वका शेयर बजार पनि घटेकाले लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। यसैगरि अन्तर्राष्ट्रिय क्षेत्रमा अझै पनि कतिपय देशहरुमा उद्योग कलकारखानाहरु बन्द अवस्था नै रहेका छन्।

यसले विश्वका लगानीकर्ताहरुलाई सुन र डलरमा लगानी गर्न प्ररित गरेको छ। जसले नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढ्न पुगेको हो।

त्यस्तै सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को बजेटले सुनको भन्सार शुल्क बढाएकाले त्यसको पनि असर मूल्यमा देखिएको हो । बजेट पश्चात सुनमा प्रतितोला २ हजार ३०० रुपैयाँ भन्सार वृद्धि भएको छ। अहिले एक तोला सुन किन्नेले १० हजार रुपैयाँ राजश्व सरकारलाई तिर्छ।।

कोरोनाका कारण विश्वभरका व्यवसायीहरुले सञ्चालन गरिहेका व्यवसायहरु सञ्चालन हुन नसकेर बन्द छ। कोरोनाका कारण विश्वका व्यवसायीहरु नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित छैनन्। यसले लगानी सुनतिर गएको छ।

अर्कोतर्फ अर्थतन्त्र कता जान्छ भन्ने अन्यौलताको बीच व्यवसायीहरुले सुनमा गरिने लगानी नै सुरक्षित देख्दा सुनको माग दिनप्रतिदिन बढ्दै गइरहेको छ। सुनको माग धान्नेगरि उत्पादन बढ्न सकेको छैन। उच्च माग र न्यूत आपूर्तिका कारण पनि सुन महङ्गो भैरहेको छ। बजेटले बढाएको भन्सार शुल्कले पनि नेपालमा मूल्य वृद्धिमा असर पुगेको हो।