असारको ९ दिनमा २२ अर्ब राजश्व संकलन, पछिल्लो दुई दिनमा मात्रै १२ अर्ब


कर संकलन नभएर अप्ठेरोमा परेको सरकारलाई दैनिक ५ अर्ब बढी राजश्व उठ्न थाले पछि राहत पुग्ने देखिएको छ । पछिल्ला २ दिन अर्थात असार ८ र ९ गते मात्र १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार असार १ देखि ९ गतेसम्मको अवधिमा २२ अर्ब रुपैयाँ कुल राजश्व असुली भएको छ । विभागका उपमहानिर्देशक मुक्ति प्रसाद पाण्डेका अनुसार ठूला करदाताहरुबाट सबैभन्दा धेरै राजश्व संकलन भएको छ भने मध्यमस्तरीय करदाताहरुबाट पनि राजश्व असुली हुने क्रम बढेको छ ।

विभागका अनुसार पछिल्लो ९ दिनमा उठेको २२ अर्ब राजश्व मध्ये ९ अर्ब ५० करोड रुपैयाँ आयकर असुली भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट) ७ अर्ब ६० करोड रुपैंया उठेको छ ।

त्यसैगरि २ अर्ब ६० करोड रुपैंया अन्तशुल्क असुली भएको छ भने २ अर्ब ३० करोड रुपैयाँ शिक्षा तथा स्वास्थ्य सेवा शुल्क वापतको राजश्व संकलन भएको छ ।

विभागका उपमहानिर्देशक पाण्डेले नोटबजारलाई दिएको जानकारी अनुसार गत चैत ११ देखि असार ९ गतेसम्ममा ६३ अर्ब रुपैयाँ कूल राजश्व असुली भएको छ ।

आन्तरिक तर्फ लक्ष्यको ७० प्रतिशत राजश्व संकलन

चालु आर्थिक वर्ष सुरु भए यता आन्तरिक राजश्व तर्फ लक्ष्यको ७० प्रतिशत हाराहारी राजश्व असुली भएको छ । विभागका अनुसार २०७६ साउनदेखि २०७७ असार ९ गतेसम्ममा ३ खर्ब २५ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । यो रकम सरकारले प्रक्षेपण गरेको राजश्व लक्ष्यको ६९.१५ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चाल् आर्थिक वर्षको बजेटको अर्ध-वार्षिक समीक्षा मार्फत उक्त लक्ष्यलाई संसोधन गरी ४ खर्ब ७० अर्ब रुपैयाँ कायम गरिएको थियो ।

कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्रमा आएको मन्दीले अझै पनि सरकारको राजश्व लक्ष्य पुरा हुने अवस्था भने देखिएको छैन । यद्यपी असार मसान्तमा थप राजश्व असुली हुने भएकाले ७० प्रतिशतको राजश्व असुली बढ्ने देखिन्छ ।