सांसदहरुले कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुव्र्यवहारलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा उनीहरुले त्यस्ता गलत कामले रोग सङ्क्रमण बढ्ने र नकारात्मक सन्देश जानेतर्फ सचेत रहन आग्रह गरेका हुन्। उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोड दिए।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले काठमाडौँ, धरान, पर्सा, रौतहटमा, डोटी, बाजुरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको उल्लेख गर्दै उनीहरुको उत्साहलाई निराशामा परिणत गर्ने काम कोही कसैले गर्न नहुँने बताए। उनले नागरिकताको विषयमा राष्ट्रियतालाई ध्यानमा राखेर अघि बढ्न जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चक्रप्रसाद स्नेहीले कोभिड–१९ सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको घटनाको निन्दा गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरे।
उनले बन्दाबन्दीको समयमा अर्थतन्त्रमा पारेको नकारात्मक असरको आवश्यक सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए। सोही पार्टीका डा. विमला पौडेलले उद्योगधन्दा पुनस्थानका कार्यक्रम ल्याउन,शिक्षा र सेवा क्षेत्रलाई व्यापारीकरण नगर्न समेत आग्रह गरे।
नेपाली काँग्रेसका अनिता देवकोटाले सोती घटना, रुपन्देहीमा बलात्कारपछि हत्या र धनुषा प्रहरी कार्यालयभित्रै भएको मृत्यु प्रकरणमा दलितसँग सम्बन्धित सङ्गठनका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने क्रममा प्रहरीले गरेको धरपटकको निन्दा गरिन्।
उक्त घटनामा सांसद समेत घाइते भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नदोहा¥याउन समेत उनले आग्रह गरिन्। सोही पार्टीका तारादेवी भट्टले कोभिड–१९ रोक्न सरकारको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याइन्। चुरेको दोहन रोक्न गम्भिर कदम चाल्नसमेत उनले सरकरालाई आग्रह गरिन्।
जनता समावादी पार्टीका प्रमिला कुमारीले नागरिकता सम्बन्धीको विधेयकमा सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरी विधेयक आएकोमा आपत्ति जनाइन्। उनले महिला, यौनिक र अल्पसङ्ख्याक व्यक्तिले समेत समान रुपमा नागरिकता प्रदान गर्नुपर्ने अवस्थामा विभेद गरिनुले सरकाकोे विभेदकारी नीति प्रष्ट भएको जिकिर गरिन्।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्वन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराएका थिए।
राष्ट्रिय सभाको अर्को बैठक यही असार १५ गते अपराह्न १ बजे बस्नेछ।
प्रतिक्रिया