मजदूर र व्यवस्थापनबीचको टकरावले पाँचतारे होटल हायात बन्द

0
Shares

होटल हायात रिजेन्सीको व्यवस्थापन र मजदूरबीचको टकराव चुलिदा अन्तत होटल बन्द हुन पुगेको छ । मजदुर युनियनको हड्तालका कारण होटल बन्द भएको भन्दै होटल व्यवस्थापनले नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ।

मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटलको सेवा प्रभावित हुँदै आएको थियो । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् ।

यता होटल्सले मजदुरहरुको गैरकानुनी हड्ताल र नाराजुलुसका कारण होटलका सम्पूर्ण सेवा र व्यवस्थापनको प्रशासनिक काम कारवाही प्रभावित भएर होटल बन्द गर्नुपरेको बताएको छ । होटलले आवश्यक सेवा सुविधा पुर्याउन नसक्ने स्थिती भएकाले रिजर्भेसन समेत बन्द गरिएको जनाएको छ।

मजदूरहरु भने खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको दाबी गरेका छन । होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

मजदूर कर्मचारी गरी जम्मा ४०० जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आबद्ध सबै ३२० जनाले माग पूरा गराउन दबाबस्वरूप काम अवरोध गरेका हुन् ।

होटलको जेठ २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट कर्मचारीलाई दिदै आइरहेको सेवा तथा सुविधाहरु कटौति गरेको भन्दै जेठ ३० गते देखि कर्मचारी आन्दोलनरत छन् । यस बीचमा पटक पटक कर्मचारी र व्यवस्थापन समुहबीच छलफल भएपनि निष्कर्शमा पुग्न सकेको छैन् ।