कोरोना परीक्षण शुल्क लिए कारवाही गर्ने

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारी खर्चमा नै कोरोना परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारवाही हुने बताएका छन्।

कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण बापत रकम लिने गरेको मन्त्रालयमा जानकारी आएको बताउँदै उनले अत्यावश्यक कामका लागिभन्दा बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न नागरिकलाई अनुरोध समेत गरेका छन्।

बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्ताउने उनको भनाइ छ । उनले चिया पसलमा भीडभाड गर्नुको साटो घरभित्रै परिवारसँग बस्न सबैलाई अनुरोध गरेका छन्। उनले भने, “चाडपर्व, जात्रा, मेला अरू समयमा पनि आउने भएकाले अहिले नागरिकले स्वास्थ्य सावधानी अपनाउनुपर्छ।”

प्रवक्ता गौतमले कतिपय स्थानमा सङ्क्रमणमुक्त भएर घर फर्किएकालाई समेत परिवार र समुदायले घर छिर्न नदिएको भन्ने खबर आइरहेको बताए। त्यस्ता व्यक्तिलाई परिवार र समाजले राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: २४ असार २०७७, बुधबार  २० : १९ बजे