मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर बसेको भए अन्याय गरेको हुने थिएँ- परशुराम कुँवर क्षेत्री

0
Shares

मेरो जीवनको अर्को महत्वपूर्ण र अविश्मरणिय दिन..

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैंक सञ्चालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ ।

म मेरो रोजगार सम्झौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैंकिङ्ग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पुर्णकालीन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पूरा हुँदैनन्। 

म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन। जीन्दगी भरि मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ ! तर मेरो यो आकांक्षा पूरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पीडा हुनेछ।

जीन्दगीभर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म हप्ताको ६ दिन काम गरेँ। जीन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिबारका दिन काम गरेको छु। पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिएँ र सहायक तहबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेको थिएँ। म आज जहाँ छु र जीन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो।

तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो। २१ लाख भन्दाबढी ग्राहकहरु, ३ हजार १०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोबल आइएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टाँसिएर बस्न मन लागेन। आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठाँनिन। यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैंकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु,  नियमनकर्ता र सरकार र समुदाय) प्रति मैले अन्याय गरेको हुने थिएँ। यो मेरा लागि स्वीकारयोग्य थिएन।

विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सिईओको रुपमा कार्यभार सम्हाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिध्दार्थ विकास बैंक मर्ज गरेर एकैचोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समयपछि मलाई विदा दिनुपर्छ भनेर तत्कालिन सञ्चालक समितिलाई भन्थेँ र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्षपछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थेँ । त्यो हिसाबले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिध्दार्थ विकास बैंकको मर्जरको शिलशिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग ३१-३२ वर्ष सम्बद्ध हुन पुगेको छु ।

ग्लोबल आईएमई बैंकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् १ देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिनसक्ने बैंकको क्षमता छ। बैंकको पुर्वाधार सबल छ, बैंकको व्यवसाय राम्रो छ, बैंकको छबी राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममुखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई miss गर्नेछु ।

यस्तो गुणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु। र म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आह्वान गर्दछु ।

 

विगत करिव साढे ३ दशक बैंकिङ्ग क्षेत्र र त्यसभन्दा अघि करिव साढे २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफुले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु र म्याडमहरुसँग र मेरा ग्राहकहरुसँग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विधार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसँग माफि माग्न चाहान्छु। मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायीक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।

यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक daily routine प्रकृतिको पूर्णकालिक काम गर्ने सम्भावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा बिताउने छु। तालीम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौख (passion) को चीज रहँदै आएको छ।

मैले बैंकिङ्ग क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घडीसम्म बाँड्न चाहन्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरि दोहोर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउँदा पढाउँदै होस्। आशा छ भगवानले मेरो यो एक आकांक्षा पूरा गर्नेछन् ।

मेरो साढे ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीता पुर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै “Good Sleep” रोजेँ, ““Good Food”  कहिल्यै रोजिन। यसले मलाई “Fearless” बनायो। कतिपय अवस्थामा यो मेरो Strength पनि बन्यो weakness पनि । यसै कारण कसैले मेरो नैतिकता र इमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबैभन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसाबले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैंकिङ्गको महाविद्यालय ग्रिन्ड्लेज र स्ट्याण्डर्ड चार्टड बैंकलाई श्रेय जान्छ, म वहाँहरुलाई सधै सम्झने छु ।

बैंकमा काम गरिरहेको अवस्था र बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत ३ १/२ वर्ष नेपाल बैंकमा काम गर्दा ९ जुलाई २००३ (डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसँग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु ।

कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरुसँग क्षमा याचना गर्दछु। 

अन्त्यमा, बैंकिङ्ग क्षेत्रमा जे जति गर्न सकेँ यसको पछाडि मेरो परिवारको ठूलो हात छ। यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु। पुर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिँन, यसका लागि म दु: खी र क्षमाप्रार्थी छु।