आन्तरिक उत्पादन कमजोर हुँदा विप्रेषणकै भरमा मुलुकको गरिबी न्यूनीकरण


काठमाडौँ । आन्तरिक उत्पादनको हिस्सा कमजोर भएतापनि विप्रेषण आप्रवाहले नेपालको गरिबी निवारणमा सहयोग पुर्याएको छ ।

सन् १९९५/९६ मा झन्डै ४२ प्रतिशत गरिबीको रेखा मुनि रहेको संख्या २०.३ प्रतिशतमा खुम्चिएको हो ।

विदेशमा कार्यरत नेपालीले पठाएको रेमिट्यान्सले गरिबी घटाएको नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ ।

डा.राजन कृष्ण पन्तले गरेको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘ गरिबी न्यूनीकरण मुलुकको आन्तरिक उत्पादन वा कृषि जस्ता क्षेत्रहरूमा संरचनागत परिवर्तनबाट नभई विप्रेषण समर्थित घरायसी खर्चबाट भएको हो । यसलाई अर्थशास्त्रीहरूले खपतमा आधारित अर्थतन्त्र भनेका छन्, जहाँ हामी आफैँ केही बनाउँदैनौँ तर बाहिरबाट आएको पैसाले विदेशी सामान किनेर जीवन चलाइरहेका छौँ ।’

प्रतिवेदनले नागरिकमा आर्थिक असमानता घटेपनि जोखिम भने उच्च रहेको रहेको देखाएको छ । नेपालको विगत तीन दशकको तथ्याङ्क हेर्ने हो भने गरिबी निवारणमा ठुलो उपलब्धी हासिल भएको छ । तर, यो उपलब्धी खाडी मुलुकको तातो घाममा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्सको उपज भएकोले यसमा धेरै खुशी हुनुपर्ने अवस्था नरहेको प्रतिवेदनको भनाई छ ।

यदि भोलि विदेशमा कुनै संकट आयो, वा कोही बिरामी भएर काम गर्न नसक्ने भयो भने ती परिवारहरू तुरुन्तै फेरि गरिबीको भुमरीमा फस्न सक्ने प्रतिवेदनको भनाई छ । स्वास्थ्य खर्च, जलवायु परिवर्तन वा रोजगारी गुम्ने जस्ता सानो धक्काले पनि यो सफलता अर्थात आम नागरिकलाई पुनः गरिबीको भुमरीमा धकेल्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

जानकारहरूका अनुसार कुनै पनि देशको अर्थतन्त्र बलियो हुनका लागि त्यहाँका कलकारखाना चल्नुपर्छ, खेतीपाती सप्रिनुपर्छ र स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुपर्छ । तर, नेपालको अर्थतन्त्रमा भने यसको उल्टो चित्र देखिन थालेको छ ।
कुनै पनि देश धनी हुनका लागि खेतीबाट उद्योगमा र उद्योगबाट सेवा क्षेत्रमा जानुपर्ने जानकारहरू बताउँछन् । तर नेपालको हकमा भने एउटा गम्भीर समस्या देखिएको उनीहरूको भनाई छ, जसलाई विज्ञहरूले “प्रि–मेच्योर डि–इन्डस्ट्रियलाइजेसन” (समय अगावैको औद्योगिकीकरणमा गिरावट) भनेका छन् ।

जानकारहरूका अनुसार सामान्यतया, कुनै देश धेरै विकसित भएपछि मात्र त्यहाँका उद्योगहरू घट्न थाल्छन् । तर नेपालमा त राम्रोसँग उद्योगहरू खुल्नै नपाई खुम्चिन थालेका छन् । अहिले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगको हिस्सा लगातार घटिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९७० को दशकमा कृषिको हिस्सा धेरै भएको, तर अहिले सेवा क्षेत्रले ठुलो हिस्सा ओगटेको समेत प्रतिवेदनमा भनिएको छ । उद्योग नहुनुको अर्थ, हामीले उपभोग गर्ने सियोदेखि गाडीसम्म सबै विदेशबाटै मगाउनुपर्छ भन्ने बुझ्नुपर्ने अर्थविद् चन्द्रमणि अधिकारीको भनाई छ । यसले गर्दा स्वदेशमा रोजगारीका अवसरहरू हराउँदै गएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाई छ ।

नेपालको व्यापारिक अवस्था हेर्दा हामी केवल उपभोक्ता मात्र बनिरहेको अधिकारीको भनाई छ । उनले भने, “हाम्रो आयात (बाहिरबाट ल्याउने सामान) को ग्राफ आकाशिएको छ भने निर्यात (बाहिर पठाउने सामान) को ग्राफ न्यून रहेको छ ।”
विप्रेषणबाट आएको पैसा फेरि घुमीफिरी विदेशमै गइरहेको अधिकारीको भनाई छ ।

“हामीले विदेशमा काम गर्न गएका आफन्तबाट पैसा मगाउँछौँ र त्यही पैसाले विदेशी चामल, विदेशी लत्ताकपडा र विदेशी विलासिताका सामान किन्छौँ,” उनले भने, “यसले गर्दा नेपालको पैसा स्वदेशमै घुमेर पुँजी निर्माण हुन पाएको छैन ।” निर्यात नबढ्दा देशको व्यापार घाटा हरेक वर्ष चुलिँदै गएको र यो दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि घातक हुन सक्ने उनको भनाई छ ।”

नेपालमा महँगी (मुद्रास्फीति) मा विगतको तुलनामा केही स्थिरता देखिएको छ । सन् १९९० को दशकतिर २० प्रतिशतसम्म पुगेको महँगी अहिले एकल अङ्कमा रहेको प्रतिवेदनमा भनिएको छ । यसको मुख्य कारण भारतीय रुपैयाँसँगको स्थिर विनिमय दर (१०० भारु बराबर १६० नेरु) भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

भारतसँगको उच्च व्यापारिक सम्बन्ध र स्थिर विनिमय दरले गर्दा बजारमा सामानको मूल्य धेरै उतारचढाव हुन नपाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, यो स्थिरता पनि भारतको अर्थतन्त्रमा भर परेको छ । यदि भारतीय बजारमा महँगी बढ्यो भने त्यसको सिधा असर नेपालीको भान्सामा पर्ने जानकारहरूको भनाई छ ।

केवल रेमिट्यान्सको भरमा देश समृद्ध नहुने विज्ञरूको भनाई छ । गरिबी घट्नु राम्रो भएपनि त्यो दिगो हुनुपर्ने उनीहरू बताउँछन् । त्यसको लागि गाउँ–गाउँमा साना तथा मझौला उद्योगहरू खोल्न सरकारले प्रोत्साहन गर्नुपर्ने, खाद्यान्नमा आत्मनिर्भरता कायम गर्नुपर्ने र युवाहरूलाई विदेश पठाउनु सट्टा उनीहरूको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउनुपर्नेमा विज्ञहरूको सुझाव छ । सडक, बिजुली र सिँचाइमा लगानी बढाएर उत्पादन लागत घटाउनुपर्नेमा समेत विज्ञहरूले सुझाव दिएका छन् ।

नेपालको अर्थतन्त्र अहिले विप्रेषणको अक्सिजनमा बाँचिरहेको अर्थविद् अधिकारी बताउँछन् । अक्सिजनले जीवन बचाए पनि शरीर आफैँ तन्दुरुस्त हुनका लागि भने आन्तरिक उत्पादन र रोजगारीको विकल्प नरहेको उनको भनाई छ । “यदि हामीले समयमै आफ्ना उद्योग र कृषि क्षेत्रलाई बलियो बनाउन सकेनौँ भने, रेमिट्यान्समा आउने सामान्य गिरावटका कारण पनि हाम्रो अर्थतन्त्र ठुलो दुर्घटनामा पर्न सक्छ,” अधिकारीले भने ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।