माछापुच्छ्रे बैंकद्वारा आफ्नो एपबाट नेपाल भारत क्रस बोर्डर ट्रान्सफर सेवा सुरु


माछापुच्छ्रे बैंकले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एm स्मार्टमार्फत ‘नेपाल भारत नेपाल’ रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (पी टू पी) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।

यो सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध यूपीआईसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन र उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने साथै सेवा छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि एमबीएल एम स्मार्ट एप्लिकेसनमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन ।बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको जनाएको छ ।

यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवद्र्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।