माउण्टेन इनर्जी नेपालको पहिलो चरणको आईपीओ साउन ८ गतेबाट खुल्ने

0
Shares

माउण्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेबाट आयोजना प्रभावित बासिन्दाका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ साउन ८ गतेबाट निष्कासन गर्ने भएको हो।

कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्री गर्नेछ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको हो। उक्त शेयर बाँडफाँड पश्चात सर्वसाधारण्का लागि जारी गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको आइपीओमा छिटोमा साउन ८ गतेदेखि २२ गतेभित्र खरिद आवेदन गर्न पाइनेछ । सो अवधिभित्र बिक्री नभएमा ढिलोमा भदौ ५ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

स्थानीयका लागि खुलाइएको आईपीओमा पनि नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावित ६० प्रतिशत छुट्टाइएको छ। दुवै वर्गका प्रभावितहरुले १० कित्तादेखि २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

नुवाकोट जिल्लामा अतिप्रभावित क्षेत्रका रुपमा पञ्चकन्या गापा वडा नं. (साविकको थप्रेक गाविस) र तादी गापा वडा नं. २, ३ र ४ (साबिक रालुकोदेवी र सुन्दरादेवी गाविस) तथा प्रभावित क्षेत्रमा तादी गापा, पञ्चकन्या गापा, लिखु गापा छन्।

त्यस्तै म्याग्दीका अतिप्रभावित क्षेत्रमा अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गापा म्याग्दी छन्।

आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ ।यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।