प्रभु बैंकले चालु आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.१७ लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ। हालको पूँजी अनुसार १८.५२ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएपनि गत आर्थिक वर्षको ८ प्रतिशत बोनस पूँजीकरण पश्चात बैंकको लाभांशदर घट्ने भएको हो ।
बैंकले खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शिर्षकहरुमा ३० करोड ८३ लाख व्यवस्था पश्चात एक अर्ब १४ करोड ३८ लाख ११ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ। केन्द्रीय बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
आठ अर्ब २३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चैत मसान्तसम्म प्रभु बैंकले कूल एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै बैंकले ४१ करोड ३ लाख ५५ हजार रुपैयाँले खुद नाफा बढाएको हो भने गत आवको यसै अवधिको तुलनमा ५८.३६ प्रतिशतले सुधार भएको हो । गत आवको यसै अवधिमा बैंकको खुद नाफा ९१ करोड ७० लाख २८ हजार रुपैयाँ थियो।
तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकले एक खर्ब ७ अर्ब ४५ करोड २३ लाख निक्षेप संकलन गरि ८६ अर्ब १६ करोड ९४ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७३.३१ प्रतिशतले वृद्धि गरि तीन अर्ब ३७ करोड ८३ लाख र सञ्चालन नाफा २४.६१ प्रतिशत धेरै दुई अर्ब ९ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५२ पैसा छ । जसमा १७ औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस पूँजीकरण गरिएको छैन। बोसअघि बैंकको आठ अर्ब २३ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषको आकार तीन अर्ब ७० करोड ६७ लाख छ ।
बैंकको आधार ब्याजदर र कोषको लागत दुबै घटेको छ । गत वर्षको चैत मसान्तमा १०.१७ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.१६ प्रतिशत र कोषको लागत ६.३९ बाट ६.१८ प्रतिशतमा सुधार भएको छ।
बैंकमा खराब कर्जा अनुपात ३.९० प्रतिशतबाट २.४२ प्रतिशतमा सुधार भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा, कर्जा निक्षेप अनुपात ७५.८२ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५८ गुणा छ।
पूँजी कोष अनुपातमा दबाब झेलेको बैंकको आधार ब्याजदर र कोषको लागतमा भने सुधार आएको छ।
प्रतिक्रिया