लकडाउनले आरएमडिसी लघुवित्तको खुद नाफा ९ करोड घट्यो

0
Shares

कोरोना संक्रमणले देश पुरै लकडाउनमा गएर तेस्रो त्रैमासको १ महिना कारोबार प्रभावित बन्दा लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को वित्तीय विवरणमा त्यसको असर देखिएको छ।

मंगलबार सार्वजनिक भएको अपरिस्कृत वित्तीय विवरण अनुसार आरएमडिसीको नाफा १५ करोड १४ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ। जबकी गत आवको यसै अवधिमा कम्पनीले २४ करोड ४४ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको नाफा ९ करोड २९ लाख रुपैयाँ अर्थात ३८ प्रतिशतले घटेको हो।

एकातिर लघुवित्तको कोषको लागत ८.७५ बाट ९.३६ प्रतिशतमा बढेर ब्याज खर्च बढेको छ भने अर्र्कोतिर आयको मुख्य स्रोत ब्याज आम्दानी सहित अन्य सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानीमा समेत गिरावटको सामना गरेको छ।

चैत मसान्तसम्ममा यस लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ७२ करोड ३१ लाख रुपैयाँ सापटी लिएर ८ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ अन्य लघुवित्त संस्थाहरुलाई कर्जा प्रवाह गरेको छ।

चैतसम्म लघुवित्तको खुद ब्याज आम्दानी २४ करोड ४८ लाख ६४ हजार रुपैयाँ छ। जुन गत आवको यसै अवधिको तुलनामा २९.८२ प्रतिशत (१० करोड ४० लाख ७६ हजार रुपैयाँ) को कमी हो। लघुवित्तको सञ्चालन नाफा २३ करोड ८१ लाख ४१ हजार रुपैयाँ छ। यो नाफा पनि गत आवको चैतको तुलनामा १० करोड ८५ लाख ४८ हजार रुपैयाँ अर्थात ३१.३१ प्रतिशत थोरै हो।

चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा छ। पूँजी वद्धिका कारण लघुवित्तको इपीएसमा अघिल्लो चैतको तुलनामा १८.३२ रुपैयाँ संकुचन आएको हो।

लघुवित्तको जगेडा कोषमा पूँजीभन्दा १.७५ गुणा धेरै अर्थात १ अर्ब ५६ करोड २१ लाख रुपैयाँ सञ्चित गरेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३०.६४ गुणा छ। यसैगरि लघुवित्तको खराब कर्जा अनुपात ०.००८३ प्रतिशत रहेको छ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  ०७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।