सरकारले सबै प्रकारका अनावश्यक खर्च कटौती गर्ने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न प्रसाशनिक खर्चमा मितव्ययिता अपनाउने बताए ।
कार्यालय सञ्चालन, इन्धन, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार परामर्शदात, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद, तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको उनले बताए।
कोरोना रोकथामको सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकबाहेक अरुलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम लगायत सबै प्रकारका भत्ता २०७७ साउन १ गतेदेखि खारेज गरेको उनले बजेट भाषणमा उल्लेख गरे ।
सार्वजनिक संस्थान, विश्वविद्यालय, बोर्ड, प्रतिष्ठान, कोष लगायतका सार्वजनिक निकायलाई मितव्ययिता निर्देशिका जारी गरिनेछ।
- कर्मचारीलाई प्रोत्साहन रकम
सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन रकममा वृद्धि गरिएको जानकारी दिए ।
उनले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने बताउँदै कर्मचारीलाई रु एक लाखको कोभिड बीमाको प्रावधान बजेटमा समावेश गरिएको जानकारी दिए ।
कोभिड–१९ को महामारीका कारण उत्पन्न असामान्य अवस्थामा सार्वजनिक भएको आगामी आवको बजेटमा परिस्थितिजन्य प्राथमिकता र आवश्यकतालाई दृष्टिगत गरी तर्जुमा गरिएका कार्यक्रमलाई रकम विनियोजन गरिएको छ भने पर्याप्त स्रोत जुट्ने स्थिति नरहेकाले तलबभत्तालगायत सुविधा वृद्धिको व्यवस्था यो वर्ष हुन नसकेको हो ।










प्रतिक्रिया