गएको साता निकै उतार- चढाव देखिएको शेयरबजार क्रमशः सुधारिन थालेको छ। मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकँदै गर्दा शेयर लगानीकर्ता संयम अपनाउँदा कारोबार रकम समेत बढ्न थालेको छ। 
आइतबार शेयर बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको भने नेप्से सूचक समेत ९ अंक बढीले उकालो लागेको छ । दिनभर उतार-चढावमा रहेको नेप्से सूचक ९.०२ अंक बढेर १३४०.२९ बिन्दुमा पुगेको छ।
१७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको बजारमा २६ लाख ७८ हजार ५०७ कित्ता शेयर किनबेच भएका छन्। १२ समूहको कारोबार भएको बजारमा ५ समूहका सूचक नकारात्मक रहे भने ७ समूहको सूचक बढेका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक १९७.२४ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १.१४ अंकले घटेको छ ।
सूर्योदय लघुवित्त, स्वरोजगार लघुवित्त सहित ५ वटा कम्पनीको शेयरमा बढेर सर्किट लागेको छ । यता, तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयरको भाउ सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ ।










प्रतिक्रिया