
स्टयान्डर्ड चार्टर्ड बैंक (SCB) ले कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा सघाउन हालसम्म ३ करोड ५३ लाख सहयोग प्रदान गरेको छ।
बैंकले पछिल्लो पटक एक्सन एड इन्टरनेशनल–नेपाललाई १ करोड ७९ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले ‘नेपालमा संकटापन्न घरपरिवारलाई आधारभूत जिविका र सरसफाईका साधनमा टेवा दिएर संक्रमणको उपायमा पहुँच अभिवृद्धि’ परियोजनाका लागि सो रकम उपलब्ध गराएको जनाएको छ ।
योसँगै नेपालमा कोभिड–१९ को संकटसँग जुध्न बैंकले गरेको योगदान रकम ३ करोड ५३ लाख पुगेको छ।
बैंकले राहत गतिविधिका लागि नेपाल सरकारलाई १ करोड १६ लाख र गैर–सरकारी संस्था पासाङ ल्हामु पर्वतारोहण संघलाई ५८ लाख रुपैयाँ दिएको थियो।
पछिल्लो परियोजनाको लक्ष्य समूदायमा कोभिड–१९ को महामारीबाट सबैभन्दा धेरै मारमा परेका सिमान्तकृत र संकटापन्न व्यक्तिको लागि बृहत प्रतिक्रिया कार्यक्रम ल्याउनु रहेको छ।
यस अन्तर्गत स्वास्थ्य समस्यासँग जुध्न रोकथामका उपायहरु अपनाउने, कोभिड–१९ रोकथामका उपकरणहरुमा घरपरिवारलाई पहुँच दिने, सम्बन्धित गतिविधिमा पीपीई वितरण लगायत गतिविधिहरु छन्।









