निरन्तर सुधारको क्रममा देखिएको नेप्से सूचक सोमबार २२ अंक बढीले उकालो लाग्दा झण्डै साढे ३ अर्ब बराबरको शेयर किनबेच भएको छ ।
सोमबार बजार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से ३० अंकमाथि सम्म उक्लिएको थियो । तर बजार बन्द हुने केही समय अगाडि बजारमा करेक्सन आएपछि २२ अंकले बढेर बन्द भएको छ । 
सोमबार नेप्से सूचक २२.३१ अंकले बढेर १ हजार ४८४ दशमलव ९९ बिन्दुमा बन्द भएको छ। यसदिन १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ४० हजार २०६ पटक कारोबार भयो। यसबाट ३ अर्ब ४६ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ । आइतबार १ अर्ब ६१ करोड ४५ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको थियो ।
सोमबार कारोबारमा आएका होटल बाहेक सबै समूहको सूचक सकारात्मक रहेका छन् । अन्य, उत्पादन र जलविद्युत समूहको सूचक धेरै बढेको छ । बीमा कम्पनीहरुको उप सूचकमा समेत उच्च सुधार आएको छ ।
निषेधाज्ञाकै अवस्थामा अनलाइनका माध्यबाट घरबाटै शेयर कारोबार गर्ने अवस्थामा पनि दैनिक कारोबारमा सुधार हुनुले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको देखिन्छ । अनलाइन कारोबारमा लगानीकर्ता अभ्यस्त भएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।
साथै केहि समय अगाडि सार्वजनिक निष्काशन भएका प्राथमिक शेयरहरु १० कित्ताका दरले दोस्रो बजारमा किनबेच हुँदा कारोबार संख्या र कित्ता समेत बढ्न थालेको छ । ब्रोकरबाट भन्दा लगानीकर्ताको आफ्नै हातबाट अनलाइन मार्फत धेरै संख्यामा कारोबार हुन थालेपछि कारोबार संख्या, शेयर कित्ता तथा रकममा समेत सुधार आइरहेको हो।
निषेधाज्ञाका कारण लगानीका अन्य क्षेत्र संकुचित हुँदा बैंकहरुबाट कर्जा प्रवाह ठप्पजस्तै छ। जसले बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रहेको र ब्याजदर समेत घटेको अवस्थामा पूँजी बजारमा सकारात्मक प्रभाव परिरहेको देखिन्छ । पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको अवस्था छ भने लगानी गर्ने अवसर पाउन सकेका छैनन् । बैंकमा सस्तो दरमा निक्षेप राख्नुभन्दा शेयर बजारमा गरिने लगानीबाट बैंक ब्याजभन्दा धेरै रिर्टन पाइने अवस्थाले बजार बढाएको विश्लेषकहरु बताउँछन् ।
सोमबारको कारोबारमा आएका कम्पनीमध्ये नेपाल रि-इन्स्योरेन्सको उच्च कारोबार भएको छ। कम्पनीको ३ लाख ४६ हजार कित्ता शेयर २८ करोड ७४ लाख रुपैयाँमा खरीद बिक्री भएको छ।
धितोपत्रको दोस्रो बजारमा गत बुधबारदेखि शेयर कारोबार सुरु भएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा चौथो दिनको कारोबारमा पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य बढेर प्रतिकित्ता ४४५ रुपैयाँ पुगेको छ।
यस्तै शिखर इन्स्योरेन्स, सानिमा हाइड्रो, शिवम सिमेन्ट, अपर तामाकोशी, डिप्रोक्स, कालिका लघुवित्त लगायतको शेयर मूल्य उच्चदरले बढेको छ । यस्तै अरुण काबेली, कालिका पावर र एचाआइडिसीएल लगायतको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया