नयाँ पुनर्बीमा कम्पनी ‘जेन्यून रि’ स्थापनाको अन्तिम चरणमा

0
Shares

प्रस्तावित नयाँ पुनर्बीमा कम्पनी जेन्यून रि इन्स्योरेन्स स्थापनाको अन्तिम चरणमा पुगेको छ ।

बीमा समितिका पूर्व कायम मुकायम निर्देशक तथा प्रस्तावित कम्पनीको प्रमुख योजनाकार समेत रहेका श्रीमान् कार्कीले कम्पनी स्थापनाको लागि प्रबन्धपत्र तयार पार्नेदेखि लगानी जुटाउनेसम्मको काम अन्तिम चरण पुगेको नोटबजारलाई जानकारी दिए ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहने कम्पनीले ७ अर्ब रुपैयाँ संस्थापक समुहको र तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रमुख योजनाकार कार्कीले बताए ।

उनका अनुसार संस्थापक समुहको ७ अर्बमध्ये ३ अर्ब संस्थागत र ४ अर्ब व्यक्तिगत लगानीकर्ताहरुका लागि छुट्टाइएको छ ।व्यक्तिगतको प्रतिबद्धता आइसकेको छ । संस्थापकलाई छुट्टाएको ३ अर्ब रुपैयाँ लगानीका लागि माग भन्दा बढी प्रतिबद्धता आएको उनले जानकारी दिए । 

एउटै कम्पनीलाई सबै रकम लगानी गर्न दिँदा मुहाली बढ्ने हुँदा लगानीको दायरालाई भिन्नभिन्न कम्पनीमा बाँड्ने योजना कम्पनीको छ । “एउटै कम्पनीको मात्र धेरै रकम होल्ड नहोस्, एउटै कम्पनीको हाली मुहाली नहोस् र कम्पनी नियम संगत चलोस् भन्नका लागि छलफलमा छौं” उनले भने । विदेशी साझेदारीको लागि छलफल भईरहेको समेत उनले जानकारी दिए ।

कम्पनीको प्रमुख योजनाकारमा ४२ वर्षसम्म बीमा समितिमा कार्यरत बीमा समितिका कायम मुकायम कार्यकारी निर्देशक श्रीमान कार्की सहित बीमा विज्ञहरु समेत सामेल रहेका छन् । ५८ वर्षदेखि बीमा क्षेत्रमा आबद्ध रहेका केबी बस्नेत र बीमा विज्ञ डा. रविन्द्र घिमिरे बीमा विज्ञका रुपमा आबद्ध रहेका छन् ।

प्रस्तावित कम्पनीको अध्यक्षमा अभियान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा समुन्नती इन्भेष्टमेन्टका सञ्चालक बाबुराम थापा रहेको उनले जानकारी दिए । विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च पदमा रहेका व्यक्तिहरुको सहयोग रहेको उनले जानकारी दिए ।

कम्पनीले लगानीका लागि प्रतिवद्धता जनाएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुसँग एक कार्यक्रमका बीच छलफल समेत भैसकेको कार्कीले जानकारी दिए ।

यसभन्दा अघि नै पुनर्बीमा व्यवसायको लाइसेन्सको लागि तीनवटा कम्पनीहरु काठमाण्डौं, अन्नपूर्ण र प्रडेन्सियल रि नामक कम्पनीहरुले आवश्यक तयारी गर्दै स्थापना र इजाजत प्राप्तीका लागि दौडधुप तीव्र बनाइसकेका छन् । जेन्यून रि इन्स्योरेन्स थपिएसँगै बजारमा पुनर्बीमा व्यवसाय गर्ने उद्देश्य सहित स्थापना गर्नखोज्ने कम्पनीको संख्या चार पुगेको छ ।

बीमा कम्पनीको नियामक निकाय बीमा समितिले नेपाली बीमा बजारमा थप पुनर्बीमा कम्पनीको आवश्यकता र सम्भाव्यताको अध्ययनका लागि बीमा समितिका सल्लाहाकार एवं बीमा विज्ञ भोजराज शर्मा सहित बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चार्टर्ड एकाउण्टेण्ट निराज आचार्य रहेको अध्ययन टोली गठन गरेको छ । समितिका सल्लाहाकार शर्माको नेतृत्वमा गठित अध्ययन टोलीले काम सुरु गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।