क्यूआर कोड भुक्तानी देशब्यापी बन्दै, तीन दर्जन बढी स्थानमा औपचारिक उद्घाटन

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पहिलो क्यूआर कोडको उद्घाटनपछि अहिले तीन दर्जन दर्जन बढी स्थानहरुमा राष्ट्र बैंकका पदाधिकारी तथा बैंकका उच्च पदस्थ अधिकारीहरुबाट क्यूआर कोडको भुक्तानी सेवाको सुरुवात भएको छ ।

गभर्नर अधिकारीले गत पुस १० गते सानिमा बैंकले नक्साल तरकारी बजारमा सञ्चालनमा ल्याएको क्यूआर कोडबाट पहिलो पटक भुक्तानी गरी औपचारिक कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसको करिब तीन महिना अवधिमा यो संख्या साढे तीन दर्जनमा पुगेको हो ।

नक्सालपछि मेगा बैंकले काठमाण्डौं उपत्यकामा चल्ने सफा टेम्पोमा क्यूआर सेवा विस्तार गरेको देखिन्छ । यस्तै गभर्नरबाटै कालीमाटी तरकारी बजारमा पुस २४ गते, ललितपुरको नख्खु तरकारी बजारमा ग्लोबल आईएमई बैंकले माघ ९ गते, माघ १६ गते नबिल बैंकले कुलेश्वर तरकारी बजार र एनएमबि बैंकले बल्खु तरकारी बजारमा एकसाथ क्यूआरकारोबारको थालनी गरे ।

यसैगरी माछापुच्छ्रे बैंकले माघ २१ गते तीनकुने तरकारी बजारमा र सिभिल बैंकले माघ ३० गते सिन्धुली बजार तथा नेपाल बंगलादेश बैंकले ७ फागुनमा चाबहिल तरकारी बजारमा क्यूआर कोड मार्फत कारोबार थालनी गरेको भेटिन्छ । त्यसपछि एकपछि अर्को गर्दै हालसम्म करिब चार दर्जन स्थानहरुमा क्यू आर कोड मार्फत भुक्तानी भैरहेको छ ।

पछिल्लो पटक चेत २९ गते मेगा बैंकले धनगढीमा विद्युतीय रिक्सामा क्यूआर कोडको विस्तार गरेको छ । चैतमा मात्रै डेढ दर्जन स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले क्यूआर कोड विस्तार गरेका छन् ।

अन्य वाणिज्य बैंकहरुको तुलनामा माछापुच्छ्रे बैंकको रफ्तार क्यूआर कोडको विस्तारमा धेरै भेटिएको छ । बैंकले पछिल्लो समय प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रवद्धर्नमा जोड दिने नीति लिएका कारणले पनि अन्यको तुलनामा धेरे स्थानमा माछापुच्छ्रेले क्यूआर कोडको भुक्तानी उद्घाटन गरी सञ्चालन गरेको छ ।

हेर्नुहोस् कुन कुन स्थानमा कुन कुन बैंकले स्थापना गरे क्यूआर कोडको भुक्तानी


राजधानीबाट सुरुवात गरिएको क्यूआर कोडको विद्युतीय भुक्तानी अभियान धादिङ्गको मलेखु, चितवन, सिन्धुली, भलापा, धनगढी, कास्की, रुपन्देही, सुर्खेत, धरान जस्ता मोफसलका सबै प्रदेशका विभिन्न स्थानमाहरुमा समेत यसको प्रयोग हुन थालेको छ।

हाल सुरुवात गरिएका स्थानका आधारमा हेर्दा रकारी बजार, व्यापारिक क्षेत्र, यातायातमा बढी प्रयोग देखिएको छ । सुरुवातमा ग्राहकको आवतजावत धेरै हुने र एउटै ठाउँमा धेरैले कारोबार गर्ने हिसाबले ती ठाउँमा क्यूआर कोडको सेवा विस्तार गरिएको हो ।

यी स्थानहरुको सुरुवातसँगै व्यक्तिगत तवरबाट पनि चिया पसल, रेस्टुराँमा, ठूला फार्म हाउस, खुद्रा पसल होस् वा सुपरमार्केट वा ई–रिक्सामा पनि क्यूआर कोड राखिएको भेट्न सकिन्छ । वस्तु तथा सेवा खरिदका लागि सजिलो माध्यमको रुपमा क्यू आर कोडमा आधारित भुक्तानी प्रणालीको प्रयोग बढिरहेको छ ।

बैंकिङ्ग क्षेत्रमा एनआईसी एशिया बैंकले २०७५ साउन २० गते पहिलो पटक विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ क्यू आर कोड मार्फत भुक्तानी सेवाको सुरुवात गरेको थियो । अहिले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरूले अधिकांश व्यवसायमा क्यूआर कोडमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याइरहेका छन् ।

चालु आवको ८ महिनामा क्यू आर भुक्तानी रकम २५० प्रतिशतले बढ्यो

करिब तीन वर्षअघि २०७५ मा भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेले नेपालमा क्विक रेस्पोन्स कोड अर्थात् ‘क्यूआर कोड’ मा आधारित भुक्तानी सेवाको सुरुवात गरेको हो । सो समयमा ‘क्यूआर कोड’ को प्रयोग खासै थिएन ।

तर विश्वमा कोभिड-१९ को संक्रमण फैलिएपछि इन्टरनेट र प्रविधिमा आधारित व्यवसायको प्रयोग बढ्दा नेपाल राष्ट्र बैंकले पनि सोही अनुसार विद्युतीय भुक्तानी प्रणाली अन्तर्गत क्यूआर कोडको प्रयोगलाई बढाउन तरकारी बजारदेखि व्यापारिक क्षेत्रमा अभियानकै रुपमा अगाडि बढाएपछि त्यसको प्रयोग पनि ह्वात्तै बढेको छ ।

पछिल्लो समय क्विक रेस्पोन्स कोड (क्यूआर कोड) मार्फत हुने कारोबार रकम ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ फागुनसम्म क्यूआर कोडमार्फत २ अर्ब २४ करोड ४५ लाख कारोबार भएको हो । यो कारोबारका लागि ६ लाख ३५ हजार ७३८ पटक क्यूआर कोड प्रयोग गरेका छन् ।

चालु आवको पहिलो महिना अर्थात २०७७ साउनमा १ लाख ९५ हजार १६ वटा कारोबार मार्फत ५८ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो । यस आधारमा हेर्दा आठ महिनामा कारोबार संख्यामा २२५.९९ प्रतिशत (४ लाख ४० हजार ७२२ वटा) बढी र कारोबार रकमका आधारमा २४८.९० प्रतिशत (१ अर्ब ४६ करोड ६० लाख) प्रतिशतको बढोत्तरी भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामार्फत क्यूआर कोड प्रयोग गरेर दैनिक ६ करोड ८५ लाख ७३८ रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । राष्ट्र बैंकले पनि क्यूआर कोड प्रवद्र्धनपछि क्यूआर कोड प्रयोग गर्ने क्रम बढेको देखाउँछ । पछिल्ला ८ महिनामै क्यूआर कोड प्रयोगको संख्या तेब्बर भएको छ। असारमा १ लाख ९५ हजार १६ पटक क्यूआर कोड प्रयोग भएको थियो भने पुसमा बढेर ६ लाख ८५ हजार ७३८ पुगेको छ ।

वस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु.आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

नेपालमा कोभिड–१९ अगाडि क्यूआर कोड पेमेन्टको तुलनामा इन्टरनेट र मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपिएसको प्रयोग र कारोबार बढी थियो । तर कोभिडको संक्रमण र लकडाउनको अवस्थाले सरल र सहज भएपछि सबैलाई विद्युतीय भुक्तानी क्यूआरतर्फ डोहोर्याएको हो ।

हालसम्म नेपाल राष्ट्र बैंकबाट हालसम्म १० वटा भुक्तानी सञ्चालक संस्था र २८ वटा भुक्तानी सेवा प्रदायक कम्पनीले अनुमति लिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ वैशाख २०७८, शुक्रबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।