महासंघ, परिसंघ नेतृत्वको लगानी रहेको “हिमालयन रि” लाई बीमा समितिले दियो सञ्चालन अनुमति


बीमा समितिले ‘हिमालयन रि’ लाई पुनर्बीमा कम्पनी सञ्चालनका लागि अनुमति दिएको छ । बीमा समितिका अनुसार सञ्चालन अनुमति माग गरेका ५ मध्ये हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने निर्णय भएको हो ।

‘आवेदन परेका ५ कम्पनी मध्ये हिमालयन रिलाई लाइसेन्स दिने सम्बन्धमा अन्तिम रुप दिने तयारी भएको छ,’ समिति स्रोतले बतायो । अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युन रि र हिमालयन रिले सञ्चालन अनुमतिका लागि समितिमा आवेदन दिएका थिए ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले १० अर्ब रुपैंया चुक्ता पूँजी रहेको हिमालयनलाई सञ्चालन अनुमति दिने निर्णय गरेको हो । यद्यपी कम्पनीलाई नै सञ्चालन अनुमति दिनु पर्ने कारणका सम्बन्धमा भने समितिले केही खुलाएको छ ।

हिमालयन रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।

हिमालयन रिले सञ्चालन अनुमति पाएसँगै नेपालमा पुनर्बीमा कम्पनीको संख्या २ पुगेको छ । यस अघि नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।