सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणः अर्थमन्त्रालयले नेप्सेलाई पनि सोध्यो स्पष्टीकरण

0
Shares

अर्थ मन्त्रालयले नेप्से नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर खरिदमा नियामक निकायका पदाधिकारीहरु नै शेयरको भित्रि कारोबारमा संलग्न समाचारहरु सञ्चार माध्यममा आएपछि तालुकदार मन्त्रालय अर्थले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले यसअघि बिहीबार नै नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधिसकेको छ । 

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले तीन दिनको समय सीमा नै तोकेर पूँजी बजारको नियामक निकाय बोर्ड र फन्टलाइन रेगुलेर नेप्सेलाई स्पष्टीकरण सोधेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थ तथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

मन्त्रालयको महाखाशा अन्तर्गत सो क्षेत्र हेर्ने शाखा अधिकृत श्याम प्रसाद आचार्यले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा कार्यालयको नाम मात्रै उल्लेख गरिएको छ । बोर्ड अध्यक्ष ढुंगाना तथा नेप्सेका सीईओ साउदको नाम भने उल्लेख गरिएको छैन ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आफ्नो छोरीको नाममा र नेप्सेका सीईओ साउदले श्रीमतिको नाममा शेयर किनेर पदको दुरुपयोगको खबर सञ्चार माध्यमा प्रकाशन।प्रसारण भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको हो ।

अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छः ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो ? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र यस मन्त्रालयमा उपलब्ध गराइदिनु हुन आदेश अनुसार अनुरोध छ,’।

नियामक निकायबाट अन्य लगानीकर्तालाई नै इन्साइडर ट्रेडिङमा कारवाही हुन नसकिरहेको भन्दै आलोचना भैरहेको समयमा बोर्ड अध्यक्षले छोरीको र नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर सारी भएको भेटिएपछि दुबैलाई कारबाहीको गरी पदमुक्त गर्नुपर्ने आवाज उठेको छ ।

आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरपछि साउदकी श्रीमती सुशीलाकुमारी बोहरा र ढुंगानाको अमेरिका बस्ने छोरी रेबिकाको नाममा रहेको शेयर संख्या समान ११ हजार ९१२ पुगेको सर्वोत्तम सिमेन्टको शेयरधनी दर्ता किताबमा देखिएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।