तरलता थप सहज हुँदा शेयर कारोबारमा बढोत्तरी, स्टक डिलरले मनोबल बढायो

0
Shares

बैंकिङ्ग प्रणालीमा तरलता खुम्चिएको लगायतका खबरहरुले ओरालो लागेको शेयर बजार तरलतामा आएको सुधारसँगै बढेको छ । साथै नागरिक स्टक डिलरले औपचारिक कारोबार थाल्ने भएपछि लगानीकर्ताको मनोबल समेत उकासिएको छ ।

जसले गर्दा शेयर कारोबारमा एकाएक सुधार आएको छ । शेयरको माग बढ्दा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका जलविद्युत बाहेक सबै समूहको सूचक बढेपछि समग्र नेप्से ४१.३० अंकले बढेर २५७०.२५ विन्दुमा उक्लिएको छ ।

यसदिन २०८ कम्पनीको ६ अर्ब ६७ करोड बढीको शेयर किनबेच भयो ।कारोबारमा आएका मध्ये १६४ कम्पनको शेयरमूल्य बढेको छ भने २६ कम्पनीको शेयरमूल्य घट्दा १८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

बैंकहरुमा तरलता बढ्न थालेपछि अन्तरबैंक ब्याजदर पुनः घटेर १ प्रतिशतभन्दा तल झरेको छ। एक साता अघिसम्म अन्तर बैंक ब्याजदर ४ प्रतिशत माथि थियो । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ्ग प्रणालीमा ५९ अर्ब तरलता रहेको छ। केन्द्रिय बैंकले पुनरकर्जा वापतको रकम समेत बैंकहरुमा पठाउदा तरलता सहज बनेको हो। पछिल्लो एक सातामा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब रुपैयाँ पुनरकर्जा लगेका छन भने स्वीकृत भएको झण्डै ३० अर्ब रकम लग्न बाँकी रहेको छ ।

साथै नेप्सेले नागरिक स्टक डिलर कम्पनीले कारोबार गर्ने योग्य संस्थाहरुको सूची प्रकाशित गरेपछि स्टक डिलर कम्पनी औपचारिक रुपमा बजार प्रवेश गर्न लागेको आभाषले पनि लगानीकर्ताको मनोबल उकासिएको छ । जसले गर्दा शेयर खरिदको क्रम बढ्दा समग्र सूचकमा सुधार आएको हो ।

यसदिन साल्ट्र ट्रेडिङ, एचआइडिसिएल, चन्द्रागिरी, आरएसडिसी लगायतका कम्पनीको शेयरमूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै निफ्राको ६५ करोड बढीको शेयर किनबेच भयो । अपर तामाकोशीको पनि ४१ करोड बढीको कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।