बैंकहरुले परिचालन गर्ने स्रोतमा मुद्दती निक्षेपको हिस्सा धेरै भएकाले पनि बारम्बार तरलता र ब्याजदरमा उतारचढाब आउने गरेको छ । बैंकिङ प्रणालीलाई नै असर गर्ने गरी बढेको उच्च लागतको मुद्दती निक्षेपका कारण तरलता व्यवस्थापनमा समेत प्रभाव पर्दै आएको हो ।
बाणिज्य बैंकहरुको जेठ मसान्तसम्मको तथ्याङकलाई आधार मान्दा पनि कुल निक्षेपमा औसत ४२.५ प्रतिशत हिस्सा करेन्ट र बचत (कासा) खातामा रहेको छ । यसले पनि बैंकहरुको कुल निक्षेपमा मुद्दतीको हिस्सा धेरै रहेको अनुमान गर्न सकिन्छ । बैंकहरुमा मुद्दती निक्षेपको हिस्सा धेरै र बचतको थोरै हुँदा तरलता व्यवस्थापन अस्थिर प्रकृतिको हुन्छ । विगतका वर्षहरुको तुलनामा सेभिङ डिपोजिट बढेको भएपनि कल, करेन्ट र मुद्दती निक्षेपको हिस्सा धेरै भएका बैंकहरु तुलनात्मक रुपमा अस्थिर हुने बैंकरहरु बताउँछन ।
करेन्ट र सेभिङ डिपोजिट धेरै भएको बैंकको स्रोतको लागत कम पर्ने हुन्छ । त्यतीमात्र नभई त्यस्ता बैंकहरुको आधार ब्याजदर पनि अन्यको तुलनामा न्यून हुन्छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङकलाई हेर्दा बचत तथा करेन्ट निक्षेप धेरै भएका राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ब्याजदरको स्थिरता तथा तरलता व्यवस्थापन सहज भएको देखिन्छ । पछिल्ला वर्षहरुमा तरलता समस्या तथा कर्जा लगानी योग्य रकम अभावका कारण नयाँ निक्षेपका लागि ब्याजदर बढाउने प्रतिस्पर्धामा पनि यी बैंकहरु देखिएका थिएनन् । त्यतीमात्र नभई तरलताको अवस्था कसीलो भएर वा अधिक भएका कारण समस्या आउने भन्ने विषयमा पनि यी तीनै बैंक रेस भन्दा बाहिर नै रहेको स्पष्ट छ ।
करेन्ट र बचत खाताको निक्षेप धेरै भएको बैंकले कर्जा तथा निक्षेप बिचको ब्याजदर अन्तरमा पनि सहज रुपमा खेल्न सक्ने अवस्था रहने एक बैंकरले बताए । आधारदर कम हुने वित्तीकै न्यून लागतमा कर्जा पाउने भएकाले ग्राहकको रोजाइमा पर्ने तथा व्यवसाय विस्तारमा समेत सहज हुने ती बैंकरको भनाइ छ । करेन्ट र सेभिङ डिपोजिट धेरै हुनु भनेको बैंकले कच्चा पदार्थ न्यून लागतमा पाएको भन्ने हुन्छ ।
केही वर्षअघि नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत निक्षेप धेरै हुँदा तरलता व्यवस्थापनमा समस्या आउने गरेपछि व्यक्तिगत निक्षेपमा जोड दिन निर्देशन दिएको थियो । यो आर्थिक वर्षको बैंशाखसम्ममा बैंकहरुमा संस्थागत निक्षेपको हिस्सा ४१ र व्यक्तिगत निक्षेपको हिस्सा ५९ प्रतिशत पुगेको छ ।
बैंक तथा वित्तीय संस्था स्थिर वा अस्थिर छ भन्ने कुरा संस्थागत र व्यक्तिगत निक्षेपको अशंलाई हेरेर पनि निर्धारण गर्न सकिने बैंकहरुको बताउँछन । सेभिङ डिपोजिट धेरै भएको संस्था स्थिर गतिमा अघि बढ्न सक्छ भने करेन्ट तथा कल निक्षेप धेरै हुने बैंक बढी भोलाटायल हुन्छन । करेन्टमा ब्याज तिर्नु पर्ने नभएपनि संस्थागत हुने भएकाले ठुलो मात्रामा राख्ने र झिक्ने गरिने भएकाले पनि अस्थिर हुन्छ ।
मुद्दती निक्षेपको सन्दर्भमा पनि ब्यक्तिगत वा संस्थागत भन्ने कुरालाई हेर्नु पर्छ । यसमा व्यक्तिगत निक्षेप धेरै भएको खण्डमा त्यसलाई राम्रो मानिन्छ । तर, संस्थागत निक्षेपको हिस्सा धेरै छ भने त्यो संस्था भोलाटायल हुनेमा बैंकहरु सहमत देखिन्छन । चालु आर्थिक वर्षको अन्त्यतिर बैंकहरुमा तरलता कसिलो अवस्थामा रहेको छ । तरलताको अवस्था कसिलो भएपछि बैंकहरुले ४ प्रतिशतसम्ममा अन्तर बैंक कारोबार गरेका छन भने नेपाल राष्ट्र बैंकवाट ५ प्रतिशत एएलएफ सुविधा समेत प्रयोग गरेको देखिन्छ ।
2078 Jestha end / Rs million | ||||
Bank | Current | Saving | Total deposit | casa % |
NBL | 35161 | 67654 | 155760 | 66 |
RBB | 58716 | 124267 | 250075 | 73.17 |
NABIL | 18093 | 70366 | 221215 | 39.98 |
NIBL | 20365 | 55710 | 174475 | 43.6 |
SCBNL | 13084 | 36160 | 87885 | 56.03 |
HBL | 10303 | 52143 | 141507 | 44.12 |
NSBI | 7034 | 42236 | 108731 | 45.31 |
NBB | 6450 | 19199 | 81547 | 31.45 |
EBL | 10834 | 57683 | 152441 | 44.94 |
BOK | 6671 | 30703 | 100976 | 37.01 |
NCC | 5759 | 28724 | 100482 | 34.31 |
NIC | 23809 | 87318 | 303903 | 36.56 |
MBL | 6599 | 43653 | 127269 | 39.48 |
Kumari | 10595 | 37741 | 147430 | 32.78 |
Laxmi | 6451 | 37715 | 114182 | 38.68 |
SBL | 9574 | 58674 | 172342 | 39.6 |
ADBNL | 20746 | 51369 | 148641 | 48.51 |
Global | 18963 | 97092 | 255262 | 45.46 |
Citizens | 5887 | 35960 | 131017 | 31.94 |
Prime | 6724 | 34096 | 146969 | 27.77 |
Sunrise | 7114 | 36806 | 103180 | 42.56 |
NMB | 7701 | 51005 | 157024 | 37.38 |
Prabhu | 12745 | 61500 | 161379 | 46 |
Mega | 9169 | 41396 | 142415 | 35.5 |
Civil | 3891 | 16960 | 88938 | 23.44 |
century | 3966 | 22379 | 87051 | 30.26 |
Sanima | 8439 | 44313 | 131795 | 40.02 |
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङकका आधारमा औसत कासा निक्षेप कुल निक्षेपको ४२.५ प्रतिशत रहेको छ । करेन्ट र बचत दुबै शिर्षकको निक्षेप करिब ४३ प्रतिशतको हाराहारीमा हुनु भनेको पनि सकारात्मक हो । तर, केही बैंकहरुको सन्दर्भमा भने कासा ४० प्रतिशत भन्दा थोरै रहेको छ । अन्य निक्षेपको तुलनामा कासा थोरै हुने संस्थाको ब्याजदर तथा तरलता व्यवस्थापन अस्थिर हुन्छ । विगतका समयमा तरलता र ब्याजदर हुने उतारचढावले केही बैंकले नयाँ व्यवसाय नै रोकेको अवस्था थियो ।
चालु आवको जेठसम्ममा बैंकहरुको कुल निक्षेपमा सेभिङको औसत हिस्सा ३२.८४ रहेको छ । त्यसैगरी सो अवधिमा बैंकहरुको कुल निक्षेपमा करेन्ट डिपोजिटको हिस्सा ८.३४ प्रतिशत रहेको छ । त्यसैगरी कुल निक्षेपमा औसत कल डिपोजिटको हिस्सा ८.२ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको जेठसम्ममा सबैभन्दा धेरै करेन्ट र सेभिङ निक्षेप हुने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यो अवधिमा बैंकको कुल निक्षेप २५० अर्ब ७ करोड रुपैयाँ रहेकोमा कल डिपोजिटको हिस्सा ५.११, करेन्ट डिपोजिटको २३.४७ र सेभिङको ४९.६९ प्रतिशत हिस्सा रहेको छ ।
त्यसैगरी सबैभन्दा थोरै करेन्ट र सेभिङ निक्षेप हुने बैंकमा सिभिल बैंक रहेको छ । यो अवधिमा बैंकको कुल निक्षेप ८८ अर्ब ९३ करोड रुपैयाँ कुल निक्षेप रहेको छ । बैंकको कुल निक्षेपमा कल ७.०८, करेन्टको ४.३७ र सेभिङको हिस्सा १९.०६ प्रतिशत रहेको छ ।
जेठसम्ममा बैंकिङ क्षेत्रको कुल निक्षेपमा करेन्ट तथा सेभिङ(कासा)को हिस्सा औसत दर ४२.५ भन्दा कम हुने बैंकहरुमा सानिमा, नबिल, लक्ष्मी, सिद्धार्थ, बैंक अफ काठमाण्डू, माछापुच्छ«े, एनएमबी, एनआइसी एसिया, मोगा, एनसीसी, कुमारी, सिटिजन्स, नेपाल बंगलादेश, प्राइम कमर्सियल, सेञ्चुरी कमर्सियल र सिभिल बैंक रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया