टिआर कर्जाको सीमा ५० प्रतिशतले घट्यो


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने ट्रष्ट एण्ड रिसिप्ट (टिआर) प्रकृतिको कर्जाको सीमा ९० दिनमा झारेको छ । केन्द्रीय बैंकले १८० दिन अवधिलाई घटाएर ९० दिनमा झारेको हो ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको तरलता संकटको अवस्थालाई मद्दत पुग्ने अपेक्षा सहित टीआर कर्जाको समय सीमा घटाएको हो । एक वर्ष अघि मात्र ९० दिनको अवधिलाई बढाएर १८० दिन पुर्याएको नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिकामा संसोधन गर्दै टिआर ऋणको सीमालाई पुनः ९० दिनमा झारेको हो ।

विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर ऋण लिन्छन । सामान आएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ । यस्तै राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित भएका व्यवसायीहरु होटल, ट्रेकिङ, हवाई लगायतलाई २०७९ सालसम्म भुक्तान गर्नुपर्ने कर्जाको दायित्वयलाई छुट्टै हिसाब बनाएर २ वर्षसम्म ४ किस्तामा असुल गर्ने गरेर हिसाब मिलाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

त्यसैगरी राष्ट्र बैंकले उद्योग स्वयमले आफ्नो प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ र मेशिन तथा अन्य यन्त्र उपकरणहरु आयात गर्दाको भुक्तानी गर्ने प्रयोजनाका लागि अधिकताम ९० दिनसम्म बैंकहरुले आयातकर्तालाई विदेशी परिबत्र्य मुद्रामा ऋण दिन सक्नेछन् । यस्तो ऋणको ब्याजदर भने बैंकहरुले आफैले निर्धारण गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय गौरबका आयोजनाहरुले र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७५ बमोजिम तोकिएका आयोजनाहरुले सेवा लिएबापतको विदेशी संस्थालाई गर्ने भुक्तानीको लागि सोझै सटही सुविधा उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।