आइएमई समुहको सेयर बजार कब्जा गर्ने ‘ग्राण्ड डिजाइन’ को अवसान !

0
Shares

आइएमई समुहको धितोपत्र बजारलाई कब्जा गर्ने योजना औपचारिक रुपमा अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको विषयमा कानुनी व्यवस्था गरेपछि वाइको प्रालि र ग्लोबल आइएमई समुहको प्रयास बिफल भएको हो ।

नेप्सेले धितोपत्र बजारको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी, कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र वार्षिक मर्मत सम्भार गर्ने संस्था एउटै हुन नपाउने व्यवस्था गर्दै कारोबार विनियमावली २०७५ लाई संशोधन गरेपछि उक्त समुहको बजार कब्जा गर्ने ‘मुभ’ मा ‘ब्रेक’ लागेको हो ।

‘सेयर कारोबार विनियमावली २०७५’ तेस्रो संशोधन लागू भएसँगै ब्रोकर आफैँलाई टीएमएस चलाउने बाटो खुल्यो

आइएमई समुहले वाइको प्रालिसँग मिलेर वाइको सोलुसन र इ–सेयर कम्पनी मार्फत टिएमएस र ‘ब्रोकर ब्याक अफिस’ सेवा प्रदान गर्न सुरु गरेको थियो ।

आइएमई समुहले धितोपत्र बजारका प्रविधिलाई आफ्नो नियन्त्रणमा राख्ने प्रक्रिया सुरु गरेपछि नोटबजारले त्यस विषयमा निरन्तर समाचार प्रकाशन गरि नै रह्यो । नोटबजारको समाचार प्रभाव स्वरुप धितोपत्र बजारको नियामक निकायले पनि धितोपत्र कारोबार विनियमावलीमा टिएमएस सम्बन्धि व्यवस्था गर्दै कुनै एक संस्था वा समुहको हातमा सेयर बजारका प्रविधि केन्द्रित नहुने गरी नीति तर्जुमा गर्यो ।

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप


ग्लोबल आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल नेपाल उद्योग वणिज्य महासंघको प्रतिनिधिको रुपमा धितापत्र बोर्डको सञ्चालकको जिम्मेवारी लिएर बोर्ड गएपछि बजारलाई नियन्त्रणमा लिने खेल सुरु गरेका थिए । उनको योजनालाई धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानाको बलियो सहयोग थियो । ढुङ्गाना सर्वोत्तम सिमेन्ट सेयर खरिद प्रकरणमा फसेपछि सरकारले छानबिन गरेर २०७८ असोज १९ गते उनलाई बर्खास्त गर्यो । सोही विषयमा अध्यक्ष चन्द्र ढकाल पनि जोडिएपछि उनले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिएका थिए ।

ढकाल धितोपत्र बोर्डमा रहँदै गर्दा उनकै स्वार्थ अनुसारको आईटी पोलिसी समेत तयार भई धितोपत्र बोर्ड पुगेको थियो । यसै बीचमा सर्वोत्तम सिमेन्ट सेयर कारोबारको विषय बाहिर आएपछि ढकाल र ढुङ्गाना दुबै धितोपत्र बोर्डबाट बाहिरिन पर्यो । त्यसपछि सेयर बजारका प्रविधिको क्षेत्रमा एकाधिकार जमाउने र बजारलाई आफ्नो चाहना अनुसार चलाउने योजना क्रमशः कमजोर बन्दै गएको हो ।

धितोपत्र बोर्डमा आइएमई समुहको स्वार्थ पूरा गर्ने गरी नेप्सेले पठाएको आईटी पोलिसीलाई बोर्डले कारोबार विनियमावलीमा समावेश गरेर संशोधनका लागि पठाउन भन्यो । त्यसपछि नेप्से कारोबार विनियमावली २०७५ को परिच्छेद २ पछि २ ‘क’ थप गरी टिएमएस सम्बन्धी कानुनी व्यवस्था गरेर धितोपत्र बोर्डमा पठायो । धितोपत्र बोर्डले त्यसलाई कुनै समुह वा व्यक्तिलाई लक्षित गरेर बनाईएका व्यवस्थालाई हटाउँदै कुनै एक संस्था वा समुहले अनलाईन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली, वार्षिक मर्मत सम्भार तथा ब्याक अफिसको सेवा दिने नपाइने व्यवस्था ग्रयो । यो व्यवस्थाले वाइको प्रालि, वाइको सोलुसन र इ–सेयरले माथिका काम गर्न नपाउने भएका हुन् । नेप्सेको अनलाईन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालि हो । वाइको सोलुसन र इ–सेयरमा वाइको प्रालिको लगानी रहेको छ । त्यतिमात्र नभई वाइको प्रालिका दिपेश प्रधानको व्यक्तिगत सेयर लगानी समेत रहेको छ ।

चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि स्वेच्छाले धितोपत्र बोर्डको सञ्चालकमा गएका थिए । ढकाल अध्यक्ष रहेको आइएमई समुह आफैँ पनि व्यक्तिगत तथा संस्थागत रुपमा सेयर बजारमा सक्रिय समुह हो । उनले बजारको ‘चार्म’ बुझेर नै धितोपत्र बोर्ड सञ्चालक आफैँ हुनुपर्ने भन्दै महासंघमा जवरजस्ती सहमति जुटाई २०७७ माघमा बोर्ड सदस्यको जिम्मेवारी लिएका थिए । बोर्डमा सञ्चालक भएपछि उनका भाई हेमराज ढकालले धितोपत्र बजारका प्रविधिको क्षेत्रमा लगानी गर्ने योजना अनुरुप काम गर्न थाले । ढकाल र उनका भाईलाई प्राविधिक तथा बजारका कमी कमजोरी बुझाउनमा महत्वपुर्ण भुमिका सिडिएस एण्ड क्लियरिङ्गका पूर्व प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको रहेको थियो । वाइको सोलुन र इसेयर कम्पनीमा समेत गुप्ताको सेयर स्वामित्व छ ।

टिएमएसको काम सुरु गर्न वाइकोसँग मिलेर आइएमई समुहले वाइको सोलुसन नामको कम्पनी स्थापना गरेर वाइको प्रालिले गर्दै आएको नेप्सेको टिएमएसको मर्मत सम्भारको काम गर्न थाल्यो । त्यसमा चन्द्र ढकालका भाई हेमराज ढकाल, देव प्रकाश गुप्ता तथा वाइको प्रालि र वाइको प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानको नाममा सेयर स्वामित्व रहेको थियो । यस विषयमा नोटबजारले समाचार प्रकाशन गरेपछि हेमराज ढकालको नाममा रहेको इ सेयर कम्पनीको सेयर स्वामित्व परिवर्तन गरी आइएमई समुहका वित्त प्रमुख चार्टर्ड एकाउन्टेन्ट दिपक शर्मा, कोर भिजन इन्भेष्टेमन्ट, ब्लुफिन इन्भेष्टमेन्ट र साइ इन्भेष्टमेन्ट प्रालिलाई नयाँ लगानीकर्ताको रुपमा भित्र्याइएको थियो ।

आइएमई समुहबाट योजनाबद्ध तरिकाले सुरु भएको सेयर बजारको प्रविधिमा लगानी गरेर धितोपत्र बजारलाई नै नियन्त्रणमा लिने प्रयासलाई धितोपत्र बोर्ड तथा नेप्सेले स्वीकृत गरेको संशोधित कारोबार विनियमावली २०७५ ले ‘रिङ आउट’ गरेको हो । संशोधित कारोबार विनियमावली २०७५ आगामी आइतबार (२०७९ असार ५ गते) देखि लागू हुने निर्णय समेत नेप्सेले गरिसकेको छ ।


विनियमावली अनुसार धितोपत्र दलाल कम्पनी आफैँले एकल वा संयुक्त रुपमा स्वदेशी वा विदेशी कम्पनीको प्रणाली प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । त्यसका लागि विनियमावलीले निश्चित मापदण्ड समेत तोकेको छ । विनियमावली अनुसार कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेञ्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेको हुनुपर्ने व्यवस्था छ । हाल धितोपत्र दलाल कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका छन् ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालि भएकाले विनियमावली अनुसार वाइको सहभागि भएर धितोपत्र बजारका अन्य प्राविधिक क्षेत्रमा काम गर्न पाउँदैन । हाल वाइको नेप्सेको कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली, धितोपत्र दलाल कम्पनीको ब्याक अफिस तथा यी सबैको मर्मत सम्भारमा प्रत्यक्ष।अप्रत्यक्ष रुपमा जोडिएको छ । आगामी आइतबारदेखि एक महिनाको अवधिमा अनलाईन कारोबार प्रणाली बाहेक अन्यबाट वाइको बाहिरिनुपर्ने विनियमावलीमा व्यवस्था छ ।

विनियमावली अनुसार टिएमएस विकासकर्ता कम्पनीको पछिल्लो तीन वर्षको औसत कारोबार ७ करोड रुपैयाँ भएको हुनुपर्छ । अन्तर्राष्ट्रिय विकासकर्ता भएको खण्डमा नेपालमा रहेको स्थानीय प्रतिनिधिको हकमा एक करोड रुपैयाँ चुक्ता पुँजी भएको हुनुपर्ने व्यवस्था गरेको छ । यसले धितोपत्र दलाल कम्पनीहरु मिलेर स्थापना भएको ‘क्याप टेक’ मार्फत टीएमएस सेवा लिन्छन् । क्यापटेकले भारतीय डेभलपरको टीएमएस ल्याएर नेप्सेबाट स्वीकृत गरी विनियमावलीको मापदण्ड अनुसार सेवा दिनेछ ।

त्यसैगरी नेप्सेले उक्त विनियमावली कार्यान्वयनका लागि कार्यविधि समेत तयार गरेको छ । कार्यविधि अनुसार कारोबार सदस्यले नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग गर्न वा आफ्नै प्रणाली विकास वा खरीद गरी प्रयोग गर्नका लागि नेप्सेको प्रणालीसँग जडान गर्न निवेदन दिनुपर्नेछ । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले यो कार्यविधि लागू भएको ३० दिनभित्र विनियमावलीमा तोकिएको दस्तुर सहित निवेदन दिनुपर्नेछ । कार्यविधिमा तोकिएको प्रक्रिया पूरा गरेपछि धितोपत्र दलाल कम्पनीले आफ्नै टीएमएस मार्फत सेवा दिन सक्नेछन् ।

सम्बन्धीत थप समाचार शीर्षकहरु:-

वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा

आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती

आइएमई र वाइकोबीच भएको सहकार्यमा धितोपत्र बोर्डको चासो, नेप्सेसँग माग्यो विवरण

नेप्सेको टीएमएसको एएमसी कसरी पुग्यो आइएमई ग्रुपको वाइको सोलुसनमा ?

आइएमई र वाइकोबीचको सहकार्यमा नेप्से मौन, धितोपत्र बोर्डको दोस्रो पत्र

ब्रोकर ब्याक अफिस ‘बोस’ पनि आइएमई समुहको कब्जामा, टिएमएसमा इन्टिग्रेट गर्दा कारोबार अबरुद्ध

चन्द्र ढकालको सेयर बजार सञ्जाल, धितोपत्र किनबेचदेखि नीति निर्माण तहसम्मको उपस्थिति कति ठीक ?

सेयर बजार कब्जा गर्ने आइएमईको रणनीतिमा अर्थको चासो, अध्ययन गरी कारबाही गर्न निर्देशन

आइएमईको सेयर बजार कब्जा रणनीतिमा नेप्सेको मौन स्वीकृति, वाइको कै जवाफ बोर्डमा पठाउँदै

वाइको र आइएमई समुहलाई बचाउ गर्दै नेप्सेको जवाफ धितोपत्र बोर्डमा

धितोपत्र कारोबार विनियमावली स्वीकृत भएसँगै आइएमई र वाइकोको सहकार्यमा ‘ब्रेक’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।