अर्घाखाँची सिमेन्टले सुरु गर्‍यो भारततर्फ सिमेन्ट निर्यात

नोटबजार संवाददाता
काठमाण्डौं ।
३१आश्विन, २०७९, सोमबार / Oct 17, 2022 13:13:pm

अर्घाखाँची सिमेन्टले भारतमा निर्यात सुरु गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच उद्योगले २ सय टन सिमेन्ट भारततर्फ निर्यात गरेको हो । यस क्रममा अर्घाखाँचीले २ वटा ट्रकमा ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट भारततर्फ पठाएको हो ।

उद्योगले उत्तर प्रदेशको महाराजगन्जमा पहिलो ट्रक सिमेन्ट पठाएको हो । भारतको उत्तर प्रदेशस्थित सुभान्सु एसोशिएटले अर्घाखाँची सिमेन्ट खरिद गरेको हो । सरकारले निर्यातको कार्यविधि बनाएसँगै अर्घाखाँची सिमेन्टले निर्यात सुरु गरेको हो ।

सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय गरेको छ । सरकारले ३० प्रतिशत मूल्य अभिवृद्धि गरी ५० करोड माथिको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान र ५० करोडमुनिको निर्यात गर्दा सिमेन्टमा ४ प्रतिशत नगद अनुदान दिने निर्यात प्रोत्साहन कार्यविधि बनाएको छ ।

सिमेन्ट निर्यातको ट्रक बिदाई गर्दै कम्पनीका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आफ्नो लामो समयदेखिको सपना पूरा भएको बताए । मुरारकाले भने “मेरो लामो समयदेखिको सपना पूरा भएको छ, यो काम अझै विस्तार हुँदै जानेमा विश्वस्त छु ।”

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डड्र्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डड्र्स इन्स्टिच्युट (आईएसआई) मार्क प्रदान गरेको छ । कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाएको छ ।

दुई महिनाअघि पाल्पा सिमेन्टले भारतमा पहिलो पटक सिमेन्ट निर्यात गरेको थियो । अर्घाखाँचीले दोस्रो कम्पनीका रुपमा सिमेन्ट निर्यात गरेको हो । क्लिङ्करसमेत उत्पादन गर्ने अर्घाखाँचीको दैनिक ४ हजार टन अर्थात ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments