
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल तोकिएको भन्दा बढी शुल्क लिने काठमाडौं मेडिकल कलेजको अनुगमन गर्न पुगेका छन् ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै एमबिबिएसका विद्यार्थीहरूको शिक्षा मन्त्रालयमा उजुरी र निरन्तर आन्दोलनमा रहिरहेका बेला आज शिक्षामन्त्री देवेन्द्र पौडेल दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अनुगमन गर्न पुगेका हुन् । उनी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहित अनुगमनमा पुगेका थिए ।
अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए ।
मन्त्री पौडेलले कलेजका प्रिन्सीपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुन अनुसार कारबाही हुन्छ ।’ मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् । मन्त्री पौडेलले भने,‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।’
मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थी सहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छिन् ।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवं प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढि शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनी समेत दिएको थियो ।











प्रतिक्रिया