गैरकानुनी घुम्ती ट्रयाक्टरले कपास उद्योग धरापमा, सिजनमै छैन सिरक डस्नाको ब्यापार

0
Shares

चिसो मौसम सुरु भएपछि कपास व्यवसायीलाई भ्याइ नभ्याइ हुनु पर्ने हो । तर त्यसो हुन सकेन । पुराना कपडा बोकेर उद्योगसम्म आउनेहरु खासै देखिँदैनन् । त्यसैले अहिले कपास उद्योगहरु सुनसान छन् ।

पछिल्लो समयमा घर दैलोमा नै सेवा दिन पुगेको घुम्ति ट्रयाक्टरले यस व्यवसायका उद्योगीहरुको उठीबास लगाउन थालेको छ । गैरकानुनी तथा सरकारलाई राजस्व छलेर सञ्चालन भइरहेको घुम्ती ट्रयाक्टरले यस क्षेत्रका व्यवसायीहरुलाई ठूलै धक्का लगाएको नेपाल कपास व्यवसायी संघ उपत्यका शाखाका अध्यक्ष माधव कुँवरले बताए ।

“कृषिका लागि भन्दै भन्सार छुट गरेर ट्रयाक्टर ल्याउने र त्यसैमा मेसिन जडान गरी घरघरमा गएर गैरकानुनी रुपमा घुम्ती कपास उद्योग सञ्चालनमा छन्,” उनले भने,“ घुम्ती सेवा दिने ट्याक्टरका कारण ४० प्रतिशत कपास उद्योग पलायन भइसकेका छन् ।” घुम्ती नरोकिए अन्य व्यवसायीको पनि उठीबास लाग्ने उनले बताए । उनका अनुसार उक्त घुम्ती ट्रयाक्टरमा ९० प्रतिशत भन्दा धेरै भारतीय नागरिक रहेका छन् ।

घरघरमै आएर सेवा दिने भएकाले अहिले आम सर्वसाधरणले घुम्ति ट्रयाक्टरमा नै कपडा पेलिरहेका छन् । तर यसरी पेलिने कपडा उद्योगको भन्दा ४ गुणासम्म महँगो पर्ने अध्यक्ष कुँवरले जानकारी दिए । “हामीले उपभोक्ताहरुलाई २३—२४ रुपैयाँमा कपास उपलब्ध गराउँदै आएका छौ,” उनले भने,“ घुम्ति सेवामा प्रति केजी ६० देखि ८० रुपैयाँ सम्ममा पर्न जान्छ ।”

यदि घुम्ती बन्द नहुने र हामीले पनि बाहिरबाट ट्रयाक्टर झिकाउनुपर्ने अवस्था आयो भने एक केजी कपासको ८० देखि ९० रुपैयाँ पर्ने समेत उनी बताउँछन् । कुँवरका अनुसार नेपालमा वर्षेनी करिब २ करोड रुपैयाँ बराबरको सेतो कपास आयात हुने गरेको छ । जुन कपास भारत, चीन, बंगलादेश लगायतका देशहरुबाट आयात भएको हो । नेपालबाट कालो कपास भारतमा निर्यात हुने गरेको छ ।

“अहिले कपास बिकी भइरहेको छैन, सिरक डस्ना बिकिरहेको छैन्, कामदारहरुले काम पाइरहेका छैनन् । धेरैजसो कामदारहरु यो कपास कारखाना छाडेर अन्य काममा लागेका छन्,” कुँवरले भने “पहिले त अलिअलि आम्दानी हुन्थ्यो, अहिले त केही छैन्, कामदारहरुलाई पाल्न पनि मुस्किल परिरहेको छ ।”

कुँवरले पनि भक्तपुरको दक्षिण बाराही मन्दिरकै छेउमा एउटा उद्योग सञ्चालन गरिरहेका छन् । जहाँ ७ जना कामदार छन् । तिनै कामदारहरुले लुगा बटुल्ने देखि मेसिनमा हालेर कपास निकाल्ने सम्मको काम गर्छन् । तर कोभिडपछि खासै काम नभएको उनले बताए । उपत्यकामा करिब ६० वटा कपास उद्योगहरु छन् । जसबाट करिब एक हजार जनाले रोजगारी पाएका छन् ।

सिजनमै छैन् सिरक डस्नाको व्यापार

चिसो मौसममा न्याना कपडासँगै सिरक, डस्नाको राम्रो व्यापार हुने गर्दछ । त्यसैले पनि अन्य समय भन्दा चिसो मौसम सुरु भएपछि व्यापारीहरु सिरक डस्ना बनाउनमा व्यस्त हुन्छन् । अन्य समयमा डस्नाको बिक्री हुने गरेपनि सिरक खासै बिक्री नहुने तर जाडो महिनामा सिरक डस्ना दुबैको व्यापार राम्रो हुने व्यापारीहरु बताउँछन् । तर यस वर्ष जाडो बढेपनि कपासका सिरक डस्नाको ब्यापारमा भने मन्दी छाएको छ ।

सिजनको समयमा पनि व्यापार नहुँदा व्यापारीहरु चिन्तित बनेका छन् । “अहिले पहिला जस्तो ब्यापार छैन्, दिनमा एक दुई वटा मात्र सिरक डस्ना बिक्री हुन्छ,” सिरक डस्ना व्यापारी मोहम्मद अकबरअलि भन्छन् “पहिला दिनमा ६ देखि ७ वटा सिरक डस्ना बिक्थ्यो ।” उनले भक्तपुरमा आजाद सिरक डस्ना पसल सञ्चालन गर्दै आइरहेका छन् ।

त्यसैगरी सिरक डस्ना पसल सञ्चालन गर्दै आएका चान्द दलीको गुनासो पनि मोहम्मदको गुनासो सँग मिल्लोजुल्दो छ । चान्द भन्छन् “पहिला पहिला त दिनमा १५ हजार रुपैयाँसम्मको पनि व्यापार हुन्थ्यो, थोरै भाको दिनमा पनि ६ देखि ७ हजार सम्मको बिक्थ्यो जाडोमा, अहिले त एक हजार देखि १५ सय सम्मको मात्र व्यापार हुन्छ ।”

अधिकांश व्यापारीको दुःखेसो एउटै छ । सिजनमा नै व्यापार छैन् । त्यस्तै कपासको सिरक डस्ना भन्दा फाइबर तथा ब्लाङ्केटको माग हुने गरेकाले पनि कपासको सिरक डस्नाको व्यापार घटेको हुनसक्ने उनीहरुको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।