
‘होम डेलिभरी’ को परिभाषा नै बदल्ने गरी युवा उद्यमीहरुले ‘खानपिन’ सुरु गरेका छन् । होटल तथा रेष्टुरेन्टका पकवानहरु निश्चित समयमा ग्राहकको घरदैलोमा पुर्याउने अभ्यासलाई बदल्दै उनीहरुले आफैँ खानाका परिकार तयार गरी चौविसै घण्टा सेवा दिने गरेका हुन् ।
‘होम डेलिभरी’ सेवा प्रदान गर्ने धेरै कम्पनीहरुको माझमा आफ्नै पकवान जुनसुकै समयमा पनि ग्राहकलाई उपलब्ध गराउने सोच सहित ५ युवाहरुले एक ठाउँमा जम्मा भएर उनीहरुले आफ्नो सेवालाई ‘खानपिन’ को नामबाट सुरु गरेका हुन् ।
आजभन्दा करिब ३ वर्ष अघि २०७५ साल देखि सुरु भएको खानपिन सुरुवाती लगानी १० लाख रुपैयाँ मात्र हो । सेवा सुरु गरेको करिब ३ वर्षको अवधिमा खानपिनको मासिक कारोबार लाखाैं रुपैयाँसम्म पुगेको छ । काठमाण्डौं उपत्यकामा मात्र सीमित सेवा विस्तार गरी पोखराबाट समेत सेवा सुरु भएको छ ।
खानपिनको वेवसाइट मार्फत मेनु हेरेर आफुलाई मनपर्ने खानाको अर्डर गर्न सकिन्छ । खानपिनले अन्य होटल तथा रेष्टुरेन्टले बनाएको खानाका परिकारहरु ग्राहकलाई उपलब्ध गराइदिने भन्दा पनि आफैँ बनाएको परिकारलाई होम डेलिभरीको सेवा दिँदै आएको कम्पनीका एक लगानीकर्ता प्रसिद्ध अधिकारीले बताए ।
दिनको समयमा विभिन्न होटल तथा रेष्टुरेन्टबाट खानाका परिकारहरु ग्राहकको घरदैलोमा पुर्याइदिने कम्पनीहरु धेरै भएपनि आफ्नै पकवानलाई दिनरात होम डेलिभरीको सेवा दिने खानपिन मात्रै रहेको सञ्चालकहरुको दाबी छ । ललितपुरको पुल्चोकमा प्रमुख कार्यालय रहेको खानपिनले एक सय भन्दा धेरै कर्मचारी मार्फत होम डेलिभरीको सेवा उपलब्ध गराउँदै आएको छ । यसले मोमो पिज्जा मात्र नभई ग्राहकको इच्छा अनुसारका स्वादिष्ट खाना तथा ब्रेकफास्ट उपलब्ध रहेको अधिकारीको भनाई छ ।
खानपिनको उदय
‘खानपिन’ को सुरुवात पाँचजनाको साथीहरु मिलेर सुरु भएको हो । यो एउटा भर्चुअल डेलिभरी व्यवसाय हो । यसका पाँच लगानीकर्ता मध्ये प्रसिद्ध अधिकारी र उमेश सापकोटा केही वर्ष अघि नाथम कलेजबाट होटल म्यानेजमेन्टमा स्नातक गरेका छन् । उनीहरु दुबै पढाइ सकेपछि अन्तिम सेमेस्टरका अध्ययनकै क्रममा लागि चीन गएका थिए । चीनमा रहँदा उनीहरुले २४ घण्टा नै हरेक सेवा सुविधा उपलब्ध भएको अनुभव गरेपछि नेपालमा पनि यस्तो गर्न सकिन्छ भन्ने निर्णय गरे । “विकसित देश २४ घण्टानै चलिराछ,” प्रसिद्ध भन्छन्“ म चीनमा इन्टर्न गर्दा रातभरी खानाहरु पाइने, रातमा पनि काम हुने, गाडीहरु राति पनि चल्ने थियो ।”
खानपिनका अन्य तीन जना लगानीकर्ता सास्वत अधिकारी, इशाबल्ल र बिशाल श्रेष्ठ सूचना प्रविधि (आइटी फिल्ड) क्षेत्रका हुन् । उनीहरुले राति अबेरसम्म काम गर्ने । तर रातिको समयमा काममा लाग्दा के खाने भन्ने चिन्ता हुनु स्वभाविक हो । बाहिरबाट मगाउने भए सीमित समय भित्र मगाइ सक्नुपर्छ । रात छिप्पिँदै गएपछि यस्ता सेवा सुविधा नेपालको सन्दर्भमा उपलब्ध छैन । त्यसैले उनीहरु पाँचजना साश्वत, प्रसिद्ध, उमेश, विशाल र इशाले होम डेलिभरीको परिभाषालाई नै बदल्ने गरी व्यवसाय गर्ने योजना सुरु भयो । त्यसमा सबैको सहमति भएपछि ‘नाइट फुड डेलिभरी’ बाट सुरु भयो “खानपिन”।
“सहरी जीवन व्यस्त हुने स्वभाविक हो । काठमाण्डौं पनि व्यस्त सहर मध्यको एक हो । यहाँ पनि दिन र रातमा काम गर्नेको संख्यामा कमी छैन । सोही अनुसार्र विभिन्न देशका खानाको स्वाद दिने योजनासँगै खानपिन सुरु भएको हो ।” प्रसिद्धले भने, ’हाम्रो मेनुले जतिसक्दो धेरै प्रकारका खानाका साथ साथै हामी क्याटरिङको पनि सेवा दिन्छौं ।”

लगानी र सुरुको अवस्था
खानपिन व्यवसायले सुरुका दिनहरुमा रातीको समय अर्थात बेलुका सात बजेबाट बिहान ३ बजेसम्म सेवा दिँदै आइरहेको थियो । यो क्रम झण्डै एक वर्षसम्म चल्यो । तर त्यसपछि भने २४ घण्टा नै सेवा सुरु भयो ।
अहिले खानपिनले खानाको जुनसुकै परिकारको अर्डर लिन्छ । अहिले खानपिनमा दैनिक करिब ३ सय वटा सम्मका अर्डर आउने गरेको उनीहरुको भनाई छ । पछिल्लो समयमा खानपिनको सेवा पोखरामा पनि उपलब्ध छ । पोखरामा दैनिक दैनिक ८० देखि ९० वटासम्मका अर्डर आउने गरेको उनीहरुले जानकारी दिए ।
एक सय जनालाई रोजगारी
‘खानपिन’ले समयमा खाना पुर्याउने मात्र होइन धेरैलाई रोजगारी समेत दिएको छ । यसले हाल १०० जनालाई रोजगारी दिएको छ । खानपिनका सञ्चालक प्रसिद्ध अधिकारीका अनुसार काठमाण्डौंमा ७० जनालाई र पोखरामा ३० जना गरेर जम्मा १०० जनाले रोजगारी दिएको छ । ‘खानपिन’ मा काम गर्ने श्रमिकले न्यूनतम १६ हजार रुपैयाँ देखि ६० हजार रुपैयाँसम्म मासिक परिश्रमिक पाउने गरेका छन् ।
लकडाउपछि प्रतिस्पर्धा
कोरोना महामारीका कारण भएको लकडाउनको समयमा होटल तथा रेष्टुरेन्ट बन्द भए । तर यो समयमा अनलाइन सेवा प्रदायक संस्थाहरुको संख्या भने बढ्यो । तर ‘खानपिन’ ले बजारमा बढेको प्रतिस्पर्धालाई सकारात्मक रुपमा लिएको छ । सञ्चालक प्रसिद्ध भन्छन्,“प्रतिस्पर्धा नभइ ग्राहकले राम्रो सुविधा पाउने पाउँदैनन् । गुणस्तरीय सेवाका लागि पनि प्रतिस्पर्धा हुनुपर्छ । ”
यस कारण अरु भन्दा पृथक

पृथक हुनको पछाडी धेरै राम्रा कुराहरु लुकेका हुन्छन् । तिनै राम्रा विशेषताका कारण नै कुनै कुरालाई हामी पृथक मान्ने गर्दछौं । काठमाण्डौंमा खानाका लागि धेरै होटल, रेष्टुरेन्ट तथा अनलाइन डेलिभरी व्यवसायहरु खुलेका छन् । तर ति सबै भन्दा ‘खानपिन’ को विशेषता छुट्टै छ । खानपिनको एउटा मात्रै किचेन रहेको छ । यसले आफ्नो किचेनबाट मात्र अर्डर गरेको खानेकुरा डेलिभरी गर्दै आएको छ । यस्तै यसले २४ घण्टा नै सेवा दिन्छ भने सेटअप मेनु तथा कस्टुमरले भनेकै मेनुका आधारमा क्याटरिङ सेवा पनि दिने गरेको छ ।
ग्राहकले आफ्नो क्रय क्षमताका आधारमा विभिन्न मूल्यका खाना अर्डर गर्न सक्नेछन् । साथै विभिन्न प्रकारका परिकार पाइए पनि विशेष महत्वका रुपमा नेपाली र इन्डियन खानाहरुमा रहेको उनीहरुको भनाई छ ।
भावी योजना
अहिले ‘खानपिन’ ले फुड, बेकरी र खानपिन अनलाइन मार्टबाट सेवा सुविधा दिँदै आएको छ । लकडाउनको समयमा निकै राम्रो तरिकाले चलेको मार्ट अलिकति होल्ड गरेर पुन रि लन्ज गर्ने योजना रहेको लगानीकर्ता प्रसिद्ध अधिकारी बताउँछन् । यसका साथै खानामा विशेष नेपाली र इन्डियन छ । तर यसमा जापनिज, कोरियन, थाइपुड, इटालियन पनि थप्दै जाने योजना रहेको उनको भनाई छ ।
“भावी योजना भनेको खाने कुराको समस्यामा हामी वन स्टप सोलुसन बन्न सक्छौं” प्रसिद्धले भने, “यहाँहरुले घर बसेर पाकेको पिज्जा पनि मगाउन मिल्यो, रसुवाको चिज, फापरको पिठो र भाँडा माझ्ने सामान पनि मगाउन मिल्यो ।” ‘खानपिन’ अहिले काठमाण्डौं र पोखरा गरेर दुई ठाउँमा मात्र रहेको छ । तर माग राम्रो भएको कारण नेपालमा अन्य ठाउँ र सकेसम्म विदेशमा पनि विस्तार गर्ने योजना रहेको खानपानकी अर्की सञ्चालक इशा बल्लले बताइन् ।
खानपिनको सेवा कहाँबाट लिने ?
खानपिनले भर्चुअल माध्यमबाट सेवा दिँदै आइरहेको छ । खानपिनकी संचालक इशा बल्ल आफ्नै एप भएकाले एप डाउनलोड तथा वेभसाइट, फेसबुक, इन्टाग्राम, ह्वाटसप, भाइबर र फोन गरेरै अर्डर गर्न सकिने बताउँछिन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया