बलेफी हाइड्रोपावरको आईपीओ १०० मा ९२ जनाले पाएनन्, २० लाख ५ हजारको हात खाली

0
Shares

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन गरेका १०० जना आवेदकमध्ये ९२ जनाको हात खाली भएको छ । उच्च मागका कारण बाँडफाँडमा १०० जनामा ८ जनाले आवेदकले मात्र सेयर पाएका हुन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कुल २१ लाख ७१ हजार ७४० जान आवेदकमध्ये भाग्यमानी १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर हात पारे । जुन कुल आवेदकको ७.६६ प्रतिशत मात्र हुन आउँछ ।

सेयर हात पारेकामध्ये १ लाख ६६ हजार ३४५ जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गर्दा बाँकी रहेको ३ कित्ता सेयर गोलाप्रथाबाट सेयर पाउने (१ लाख ६६ हजार ३४५ जना) मध्येबाट पुनः गोलाप्रथा गरी ३ जनालाई थप १।१ कित्ताका दरले बाँडफाँड गरिएको हो । यसअनुसार १ लाख ६६ हजार ३४२ जनाले १० कित्ताका दरले तथा भाग्यमानी ३ जनाले थप १।१ कित्ताका दरले कुल ११ कित्ता सेयर प्राप्त गरेका हुन् ।

सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा उच्च आवेदनका कारण यो निष्काशनमा समेत २० लाख ५ हजार ३९५ जनाको भने हात खाली भएको हो । आईपीओमा आवेदन गरेर सेयर नपाउने संख्या ९१.३४ प्रतिशत हो ।

कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७४० जना आवेदकको २ करोड ४४ लाख ७१० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको सेयरको १४.६७ गुणा बढी हो ।

कुल आवेदकमध्ये २१ लाख ६८ हजार १०० जना आवेदकबाट परेको २ करोड ४३ लाख ५८ हजार ५१० कित्ता सदर भएको थियो भने ३ हजार ६४० जनाआवेदकबाट परेको कित्ताको आवेदन ४२ हजार १८० कित्ता बदर (रद्द) भएको छ ।

कम्पनीले चैत्र १६ गते बुधबारबाट चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल जारी सेयरमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ९१ हजार ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धीत थप समाचारहरू:-

* बलेफी हाइड्रोको आईपीओ नतिजा यसरी हेर्न सकिन्छ

* बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ३ जनाले पाए ११ कित्ता

* बलेफीको आईपीओ बाँडफाँड हुँदै, १ लाख ६६ हजार ३४५ जनाले मात्र पाउने

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।