अल्पकालिन लगानीकर्ता हाबी हुँदा सेयर बजारमा उच्च गिरावट

0
Shares

पछिल्लो दुई कारोबारमा ११५ अंक बढी उकालो लागेको सेयर बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा तेस्रो दिनको कारोबारमा उच्च गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिका दुई दिन सेयर बजारमा उच्च अंकको बढोत्तरी आएको थियो । दुई दिनमा नेप्से ११५ अंक बढीले उकालो लागेको थियो । आइतबार ६१ अंकले बढेको नेप्से सोमबार साढे ५४ अंकले बढेको थियो ।

छोटो समयमा बजार उच्च अंकले बढ्दा अल्पकालिन लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागेपछि बजारमा दबाब परेको हो । मंगलबार नेप्से ४४.८० अंकले घटेर दुई हजार ८८ दशमलब १६ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकसंगै मंगलबारको कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा तीन अर्ब ७२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, ब्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

यसदिन मल्टिपर्पस फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ९.३२ प्रतिशतले बढेको छ । सुर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदि हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ।

गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घट्दा रिभर फल्स हाइड्रोपावरको ५.९९ प्रतिशत,सबैको लघुवित्तको ५.१३ प्रतिशत र पोखरा फाइनान्सको ५.१० प्रतिशतले घटेको छ।

मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० साउन २०७९, मंगलबार  १५ : २२ बजे