हट्ला त बीमा एजेण्टको नेटवर्क, अभिकर्ताले एउटा मात्रै कम्पनीको काम गर्न पाउने

0
Shares

अब देखि एउटा बीमा अभिकर्ताले एउटा मात्रै जीवन बीमा कम्पनीको पोलिसी बिक्री गर्न पाउने भएका छन् । बीमा क्षेत्रमा देखिएको विकृतिलाई हटाउन नेपाल बीमा प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो ।

नयाँ बीमा ऐन २०७९ बमोजिम पुराना अभिकर्ताले नवीकरण गर्दाको बखत एउटा कम्पनी स्वेच्छिक रुपमा घोषणा गर्नुपर्नेछ । यसका लागि प्राधिकरणले इन्स्योरेन्स रेगुलेटेड म्यानेजम्यान्ट सिस्टम सञ्चालनमा ल्याएको छ ।

पुराना अभिकर्ताले नविकरण गर्दा अनिवार्य एउटै कम्पनीको नामबाट मात्र नवीकरण गर्न पाउनेछन् । नविकरण गर्दा सिस्टममा अभिकर्ताले आफ्नो प्यान नम्बर अनिवार्य रुपमा राख्नुपर्नेछ । प्यान नम्बरबाट पहिलो पटक जुन कम्पनीको नामबाट अभिकर्ताले नवीकरण गर्नेछन् सोही कम्पनीको लागि अभिकर्ताको रुपमा काम गर्नुपर्नेछ । एउटै प्यान नम्बरबाट दोस्रो कम्पनीको अभिकर्ताको लाईसेन्स नवीकरण गर्न पाइनेछैन । सिस्टमले नै यसलाई स्वीकार गर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, नयाँ अभिकर्ताको हकमा प्राधिकरणले पहिले नै कम्पनी छनौट गर्न पाउने व्यवस्था गरिदिएको छ । पुराना अभिकर्ताले आगामी चैत मसान्तसम्म नविकरण गर्न पाउने अवसर पाउनेछन् । अभिकर्ताले घरमा नै बसेर अनलाईन मार्फत पनि लाइसेन्स नवीकरण गर्न पाउनेछन् ।

धमाधम बीमा अभिकर्ताका परीक्षा लिँदै कम्पनी

जीवन बीमा कम्पनीहरुले बीमा अभिकर्ताको लागि धमाधम परीक्षा लिन थालेका छन् । नयाँ बीमा ऐन बमोजिम नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा लिन सक्ने जिम्मा बीमा कम्पनीलाई दिन सक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार प्राधिकरणले कम्पनीहरुलाई नै परीक्षा लिन सक्ने जिम्मा दिएको छ । यस अघि बीमा कम्पनीले बीमा अभिकर्ताका लागि तीन दिने तालिम मात्रै सञ्चालन गर्दै आएका थिए । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म ३ लाख बीमा अभिकर्ता छन् ।

बीमा कम्पनीले बीमा अभिकर्ताको लागि लिने परिक्षाको पूर्णाङ्क १०० छ । जसमा ५० वटा वस्तुगत प्रश्न सोधिनेछ । प्रत्येक प्रश्न दुई नम्बरको हुनेछ । बीमा अभिकर्ता लाईसेन्सका लागि प्रशिक्षार्थीले कम्तिमा ५० अंक ल्याउनुपर्नेछ । परीक्षापछि बीमा कम्पनीले मार्कसिट र प्रमाणपत्र सहित प्राधिकरणमा सिफारिश गर्नेछ ।

तोडिएता त नेटवर्कको जालो

सरकारले नेटवर्क व्यवसायलाई बन्देज गरे पनि जीवन बीमा अभिकर्ताहरुले भने नेटवर्कको जालो भने कायम नै राखेका छन् । अभिकर्ताले आफूभन्दा तल अन्य अभिकर्ताले थप गर्दै व्यवसाय बढाउने सक्ने जीवन बीमा कम्पनीहरुले व्यवस्था गरिदिएका छन् । कम्पनी अनुसार अभिकर्ताको न्यूनतम दुई वटा देखि चारवटासम्मको तह रहेको पाइन्छ ।

यसरी बनेका तहमा सबैभन्दा तल्लो तहले गरेको कामको कमिशन माथिल्लो तीनवटा तहसम्मले पाउने गरेका छन् । प्रत्येक तहमा चार-चार प्रतिशत कमिशन बाँडिन्छ । त्यस्तै, तल्लो तहको अभिकर्ताले गरेको व्यवसायको गणना माथिल्लो तहको अभिकर्ताले समेत पाउने गरेका छन् ।

बीमा ऐनले बीमा अभिकर्ताको लागि कमिशन तथा इन्सेन्टिभको व्यवस्था गरिदिएको छ । अभिकर्ताले पोलिसीको अवधि र बीमा रकम अनुसार अधिकतम २५ प्रतिशतसम्म कमिशन पाउँछन् भने १८ प्रतिशतसम्म इन्सेन्टिभ पाउने व्यवस्था छ । तर, अभिकर्ताले बार्गेनिङ गरेर २५ प्रतिशतसम्म नै इन्सेन्टिभ लिने गरेको बिमकहरु बताउँछन् ।

तर, बीमा प्राधिकरणले भने अब एउटा अभिकर्ताले एउटा मात्रै कम्पनीको काम गर्न पाउने व्यवस्था गरेको छ । यसले अभिकर्ता बीच हुने अस्वस्थ प्रतिस्पर्धा रोकिने प्राधिकरणको बुझाई छ । यसले अभिकर्ताको नेटवर्क तोड्ने प्राधिकरणको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।