ऋणीले थप ऋण नपाएको कुरा मात्रै बाहिर आयो: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा भएका सुधार लुकाई ऋणीले थप ऋण नपाएको कुरा मात्रै बाहिर आएको बताएका छन् । उनले अर्थतन्त्रका केही पक्षहरुमा सुधार आएको भएतापनि पुराना ऋणीले ऋणको किस्ता वा ब्याज तिर्नका लागि ऋण नपाएको विषयले मात्र स्थान पाएको बताएका हुन् ।

नेपाल बैंकर्स संघको (एनबीए) को ३६ औं वर्षिक साधारण सभामा बोल्दै गभर्नर अधिकारीले अहिलेको समय चुनौति पूर्ण रहेको बताए । अर्थतन्त्रमा देखिएको समस्या नेपालको मात्र नभई संसारभरीकै समस्या रहेको उनको भनाई छ । विश्वभरीका देशहरुले नीतिगत दरहरु बढाइरहेको बताउँदै उनले हामीले पनि केही सहनुपर्ने सुझाए ।

“हामो अर्थतन्त्रभित्रका सकारात्मक र सुधार भएका कुराहरु बाहिर त्यति आउँदैनन्,” गभर्नर अधिकारीले भने, “हाम्रो अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्ने निश्चिय नै हो । हामीले रेमिट्यान्सलाई मेन ड्राइभर बनाइरहेका छौं । त्यसबाट सिफ्ट भएर उत्पादनमा जान जरुरी छ ।” आज भन्दा २ वर्षअघिसम्म बैंकहरुको कर्जा निक्षेप अनुपातदेखि अनेक कुराहरुको दबाब भएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए । अहिले बैंकहरुले दैनिक तरलता व्यवस्थापनका लागि लिएको आउट स्ट्याण्डिङ स्थायी तरलता सुविधा ५ अर्ब रुपैयाँ मात्र रहेको उनले बताए । त्यसैगरी बैंकिङ प्रणालीमा सुधार आएको बताउँदै उनले अन्तर बैंक दर समेत घटेको स्पष्ट पारे ।

“अहिले ऋणीले थप ऋण नपाइराखेको भन्ने कुरा मात्र बाहिर आएकोे छ,” उनले भने, “ऋण माथि ऋण दिने जुन कल्चर हामीले बनायौं त्यसले अर्थतन्त्रका लागि हित गरेन ।” ऋणीको बिजनेस पनि विस्तार हुन नपर्ने तर ऋण चाहि थपिने भन्ने अभ्यासको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । यसमा बैंकहरुले पनि अलिकति बताइदिन गभर्नर अधिकारीले अनुरोध गरेका छन् । ऋणीले कर्जा नतिर्ने अनि बाहिरबाट रेमिट्यान्स आयो भने निक्षेप वा तरलता बढ्ने भन्ने कुरा होइन,” उनले भने, “यो बेला बैंकहरुले रिकभरिमा आधारित कर्जा लगानी गर्ने सोच्नुपर्छ । यो वर्ष बैंकहरले जति रिकभर गर्न सकिन्छ त्यति कर्जा लगानी गर्ने योजना बनाएको खण्डमा धेरै नै सुधार हुने देखिन्छ ।”

हिजो कर्जा लिएको ऋणीले कर्जा तथा ब्याज तिर्नका लागि ऋण लिन्छ र आम्दानी देखाउने अभ्यासको न्यूनिकरण गर्नुपर्नेमा गभर्नर अधिकारीले जोड दिए । चुनौति हुनु स्वभाविक रहेको बताउँदै गभर्नर अधिकारीले भने, “म जोखिम नै भएको समयमा आएको हुँ, यहाँहरुले मलाई कोभिड गभर्नर भन्दा पनि फरक पर्दैन ।”

समग्र अर्थतन्त्रलाई सन्तुलनमा राखेर व्यवस्थित दिशातर्फ बढाउन हामी क्रमशः अगाडि बढेको उनले बताए । यसमा बैंकर्स संघको विशेष हात रहेको बताउँदै उनले भने, “केही विकृति बढेका छन् भने पनि बैंकहरुकै हात छ । केही सुधार भएको छ भनेपनि बैंकहरुकै हात छ । यहाँहरुले मम भन्नुपर्ने हुन्छ ।”

बैंकर्स संघले पुर्व गभर्नर डा. तिलक रावललाई सम्मान पनि गरेको छ । संघको साधारण सभाले कार्यकारी समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङलाई चयन गरेको छ । यसअघि मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली उक्त बैंकबाट बाहिरिएपछि रिक्त रहेको सदस्य पदमा खालिङ निर्वाचित भएका हुन् । सभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डेलाई पनि पुनः अर्को एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको छ ।

माछापुच्छ्रेका कोइराला र एसबीआई बैंकका डेले यसअघि पनि कार्यसमितिमा रहेर एक कार्यकाल काम गरेका छन् । उनीहरु पुनः दोहोरिएका हुन । एनबीएमा सदस्यहरु दुई कार्यकाल रहन पाउने व्यवस्था छ ।

यस्तै बैंकर्स संघका अन्य सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, सनराइज बैंकका सुनम शर्मा र एनआईसी एशिया बैंकका रोशन कुमार न्यौपाने छन् । संघको सल्लाहकारमा पूर्वअध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  २० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।