उपत्यकामा ८ वर्ष पहिले सुरु भएका विस्तारका सबै सडक सम्पन्न हुन बाँकी


काठमाण्डौं उपत्यकामा सात\आठ वर्ष पहिले शुरु भएका विस्तारका सडकमध्ये कुनैको पनि काम सम्पन्न भइसकेको छैन ।

सबै सडकमा थोरैथोरै मात्रै काम बाँकी रहेको काठमाण्डौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

उपत्यकामा विस्तारका सडकमा कालोपत्र बाँकी भएकामा पनि अरु आधारभूत काम भइसकेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । अहिले अधिकांश सडक सम्पन्न हुने क्रममा रहे पनि थोरैथोरै काम बाँकी रहेको छ । तुलनात्मकरुपमा बढी काम भएको नख्खु–बुङमति सडकमा भए पनि त्यहाँका सडक यही महिनाभित्र सम्पन्न गर्नुपर्ने उनले बताए । उनले भने, “सबैतिर एकदुई किमी मात्रै बाँकी छ र त्यसमा पनि बेस र सबबेसको काम भइसकेको छ ।”

अधिकांश सडकमा विसं २०७१ र विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । शुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरेपनि स्थानीयबासीको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन ।

लामो समय निर्माण अवरुद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाईमा नै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्रीको सजिलै उपलब्ध नहुँदा निर्माण चालु हुन नसकेको आयोजनाले जनाएको छ ।

विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुको कारण एउटै रहेको पाइन्छ । पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरण, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थाले संरचना बिच्छ्याउन लागेका कारण तत्काल सम्पन्न गर्न नसकिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, “कालोपत्र गरिसकेर खन्नेभन्दा पहिले उनीहरुलाई काम गरिसक्न दिएर मात्रै काम अघि बढाउन लागिएको हो ।”

लिमिटेडले पाइप बिच्छाइरहेको, प्राधिकरणले विद्युत्को लाइन अण्डरग्राउण्ड गरिरहेको र टेलिफोनको अप्किल फाइबर अण्डरग्राउण्ड गरिहरेको छ । समन्वयमा नै ती निकायलाई काम गर्न दिइएको सूचना अधिकारी जोशीले बताए । चावहिल–जोरपाटी सडक निर्माण कमपनीले एक सातामा सम्पन्न गर्ने भने पनि पहिले खानेपानीको पाइप राख्न दिइएको उनले बताए । उनले भने, “उहाँहरुले पनि कालोपत्र गर्नासाथ खन्दा गलत सन्देश जान्छ भनेर पाँचसातमा आफ्नो काम सकाउने र त्यसपछि मात्रै कालोपत्र गर्न भन्नुभएको छ ।”

हाल ललितपुरका चार, काठमाण्डौंका तीन र भक्तपुरको एक सडक विस्तार भइरहेको छ । सबै सडकमध्ये अब जम्मा पाँच÷छ किमी मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  ०६ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।