आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा प्रत्यासीहरुले उम्मेदवारी दर्ता गर्न थालेका छन् ।
मंगलबार वरिष्ठ उपाध्यक्ष प्रत्यासी अन्जन श्रेष्ठ सहित उनको प्यानलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । बिहान १० बजे महासंघ सचिवालय टेकूमा पगी अन्जन प्यानलका उम्मेदवारहरुले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।
अन्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । त्यसैगरी अरुणराज सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । मनीषलाल प्रधानले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस अघि एशोसिएटतर्फ अन्जन प्यानलमा रहने गरी एक कार्यक्रममा औपचारिक रुपमा सार्वजनिक भएकी ज्योत्सना श्रेष्ठ एकाएक अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईको प्यानलमा पुगेकी थिइन् । जसका कारण अन्जन प्यानलमा एशोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे अघि सरे पनि मनोनयन दर्ता गर्न पुगेका छैनन् ।
शीर्ष नेतृत्वसँगै सबै समुहबाट सदस्यहरुले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएका श्रेष्ठ प्यानलको औपचारिक घोषणा भने भईसकेको छैन । यस अघि रामचन्द्र संघईले गत आइतबार साँझ आफ्नो प्यानल घोषणा गरेका थिए । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले पनि सोमबार औपचारिक रुपमा प्यानल घोषणा गर्दै उम्मेदवारहरु सार्वजनिक गरेका थिए ।
अन्जनले सबै पदमा उम्मेदवारहरु टुङ्गो लगाएर बुधबार औपचारिक रुपमा प्यानल घोषणा गर्ने तयारी गरेका छन् ।
महासंघको निर्वाचन कार्यतालिका अनुसार चैत २१ गते मंगलबार साँझ ५ बजेसम्ममा सबै उम्मेदवारहरुले मनोनयन दर्ता गराईसक्नु पर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया