वैशाखमा साढे ५४ हजार नेपाली विदेशीए, उच्च दक्षता भएका १६ जना

0
Shares

गत वैशाख महिनामा वैदेशिक रोजगारीका लागि ५४ हजार ४५७ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यो पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा ४९ हजार ५ सय ९ पुरुष र ४ हजार ९ सय ४८ जना महिला गरी कुल ५४ हजार ४ सय ५७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

गत महिना विभिन्न युरोपियन मुलुकहरू, खाडी मुलुक तथा दक्षिण कोरिया लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन् ।

उक्त महिना उच्च दक्षता भएका १६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यवसायिक कामका लागि ९२, अर्ध दक्ष ४ हजार ९१५, दक्ष ३७ हजार ९९१ जना र अदक्ष ११ हजार ४४३ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैशाख महिनामा नयाँ श्रम स्वीकृति लिने नेपालीको संखया ३३ हजार ४ सय ४० जना रहेको छ । जसमा ३ हजार ६ सय १९ जना महिला र २९ हजार ८ सय २१ पुरुष रहेको विभागले जनाएको छ ।

मलेसिया जाने सबैभन्दा धेरै

वैशाखमा सबैभन्दा धेरै १६ हजार २६५ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। त्यस्तै साउदीका लागि ८ हजार ६८१, कतारका लागि १० हजार २३० र युएई ९ हजार ४८३ जना तथा दक्षिण कोरीयका लागि २ हजार ५७४ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै कुवेतका लागि २ हजार १ सय १० जनाले श्रम स्वीकृति लिएका छन् । रोमानीयका लागि १ हजार ६०६, जापनका लागि ८१७, बहराइनका लागि ५ सय ५, साइप्रसका लागि ४६०, क्रोएसियाका लागि ४ सय ७१, माल्टाका लागि २ सय ५७, पोल्याण्डका लागि ६ सय ३५, युकेका लागि १५८ तथा अमेरीकाका लागि २९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

धेरै नेपालीहरू मजदुरका रूपमा वैदेशिक रोजगारीमा गएको देखिन्छ। कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन्।

म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेका छन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।