केही समय मेलम्चीको पानी काठमाण्डौं नल्याइने


वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौं उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।

नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाण्डौं ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

“आयोजनाले काठमाण्डौं उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा हाललाई सुरुङ बन्द गरिएको छ”, उनले भने । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाण्डौं उपत्याकामा ल्याइने पन्तको भनाइ छ ।

आयोजनाले काठमाण्डौं उपत्यकामा पानी यस वर्ष वर्षाभर नै बन्द नगर्ने गरी योजना बनाएको थियो । लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको हो । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाब दिएको उनले बताए । “पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको हो”, पन्तले भने ।

मेलम्चीको पानी विगत वर्षमा पनि हिउँदमा काठमाण्डौं ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १० : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।