सन् २०२२ मा टाइम्स फर्मास्युटिकल्सले ९९ करोड २ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा ७९ करोड ११ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा २५.१६ प्रतिशतले बढेको हो ।
कम्पनीको आम्दानीमा वृद्धि भएसँगै त्यसको सकरात्मक प्रभाव वित्तीय सूचकांकमा समेत परेको छ । सन् २०२२ मा कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १६.४ प्रतिशत पुगेको छ ।
सन् १९९४ मा स्थापना भई सन् १९९७ देखि सञ्चालनमा आएको कम्पनीले एन्टि–बायोटिक, एन्टि–कोल्ड, सप्लिमेन्टस्, एनाल्जेसीक, एन्टि–डायबेटिक औषधीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीका अध्यक्ष तथा निर्देशक नारायण बहादुर क्षेत्री हुन् । कम्पनीमा ४३ जना सेयरधनीहरु छन्, नारायण बहादुर क्षेत्रीको सेयरहिस्सा १० प्रतिशत रहेको छ । कम्पनीले कुल आम्दानीको २२ प्रतिशत आफ्ना १० ठूला ग्राहकरुसँग गर्दै आएको छ ।
६० करोड ३२ लाख बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । २३ करोड २७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई ट्रिपल बी माइन्स र ३७ करोड ५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए ३ रेटिङ प्रदान गरेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको ४.१ गुणा रहेको छ । कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको ऋण भुक्तानी गर्न सक्ने क्षमतामा पनि वृद्धि भएको हो ।
सन् २०२१ मा ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ३.८ गुणा थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया